त्रिभुवन विश्वविद्यालयमा पहिलो पटक प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा पहिलो पटक प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त भएको छ । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री प्रचण्डले बिहीबार प्रा.डा. केशरजंग बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।

उपकुलपति सिफारिसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वमा समिति गठन गरिएको थियो । समितिले उपकुलपतिको लागि खुल्ला आवेदन मागेको थियो ।

उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस भएको थियो । शैक्षिक योग्यता, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा बरालको नियुक्ति गरिएको हो ।

सिफारिस समितिले विभिन्न मापदण्डको आधारमा दिइएको अंकमा आधारमा उपकुलपति नियुक्त गरिएको हो । उपप्राध्यापकको रुपमा महेन्द्र मोरङ क्याम्पसबाट अध्यापन सुरु गरेका बराल २०६४ मा पोखरा विश्वविद्यालयको उपकुलपति भएका थिए ।

पोखरा विश्वविद्यालयलाई विस्तार गर्ने श्रेय बराललाई जान्छ । निश्चित शहरका २३ वटा सम्बन्धन प्राप्त कलेजलाई बढाएर उनले ५४ मा पुर्‍याएका थिए । उनले नर्सिङ, स्नातक तहको इलेक्ट्रिकल, इलेक्ट्रोनिक इन्जियिरिङ जस्ता शैक्षिक कार्यक्रम सुरु गराएका थिए ।

बिहिबार, १० फागुन, २०८०, साँझको ०५:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर