विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि सरकारले खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्ने भन्दै आह्वान गरेको सूचनामा १८ जनाले आवेदन दिएका छन् ।
मोरङको सुन्दरहरैंचामा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवराज कोइरालाको चार वर्षे कार्यकाल फागुन १८ मा सकिने भएकोले नयाँ उपकुलपतिको नियुक्तिको प्रक्रिया सुरु भएको हो ।
सरकारले नयाँ उपकुलपति नियुक्तिका लागि शिक्षामन्त्री अशोक राईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिले गत माघ २३ मा उपकुलपतिमा नियुक्तिको आवेदन आह्वान गरेको थियो ।
विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले उपकुलपति नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको संयोकत्वमा राष्ट्रिय योजना आयोगका सदस्य रमेशचन्द्र पौडेल र शिक्षा सचिव सुरेश अधिकारी रहेको समिति गठन गरेका थिए । समितिले निर्धारण गरेको कार्यविधिअनुसार तोकिएको मितिभित्र आवेदन दिएका उम्मेदवारहरूले पेश गरेको कागजातहरूको मूल्याङ्कनका आधारमा सर्टलिस्ट सार्वजनिक गरी उपकुलपति छनोटको प्रक्रिया अगाडि बढ्ने समितिका सदस्य रहेका शिक्षा सचिव अधिकारीले जानकारी दिए ।
सार्वजनिक अल्पसूचीमा परेको उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्तापछि सबैभन्दा बढी अंक प्राप्त गर्ने ३ जनाको नाम उपकुलपतिमा नियुक्तिका लागि कुलपतिसमक्ष सिफारिस गरिन्छ । सिफारिसमा परेका तीनमध्ये एकजनालाई उपकुलपति नियुक्त गरिने प्राबधान छ ।
सूचनाबमोजिम तोकिएको अन्तिम दिन मंगलबारसम्म १८ जनाले आवेदन दिएको बताइएको छ । विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेशराज दाहालसहित कला, कानुन तथा शिक्षाशास्त्र संकायका डीन प्रा.डा. अनिलकुमार पोखरेल, इञ्जिनियरिङ संकाय डीन प्रा.देवीप्रसाद भट्टराई, व्यवस्थापन संकायका निवर्तमान डीन प्रा.डा. विजुकुमार थपलिया, अनुगमन तथा मूल्याङ्कन केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक सन्जेशप्रसाद कोइरालालगायतले आवेदन दिएका छन् । यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धराका रजिष्ट्रार रहेका प्रा.डा. सूर्यप्रसाद संग्रौला, प्रा.डा. प्रमोदकुमार झा, प्रा.डा. चक्रपाणि खनाल, प्रा.डा. जीवन ढकाल, प्रा.डा. रमेशकुमार भट्टराई र विनोद पराजुलीले पनि उपकुपतिमा नियुक्तिका लागि आवेदन दिएका छन् ।
शिक्षा मन्त्रालयले आवेदन पेश गरेका उम्मेदवारहरूको औपचारिक विवरण भने सार्वजनिक गरेको छैन । अब नियुक्त हुने उपकुलपति विश्वविद्यालयको आठौँ उपकुलपति हुनेछन् ।