विराटनगर । प्रदेश सरकारसँग खोसेर संघीय आयोजनामा लगिएको विराटनगर रिङरोडको अधुरो निर्माण कार्य अगाडि बढेको छ । संघीय आयोजना कार्यान्वयन इकाइको रुपमा विराटनगरमा रहेको सडक डिभिजन कार्यालयले कुल ४२ किलोमिटर चक्रपथ मध्ये ३ किलोमिटर कालोपत्रे गर्ने गरी बिहीबार बोलपत्र आह्वान गरेको छ ।
२०७५ सालमा कोशी प्रदेश सरकार मातहतमा आएको विराटनगर चक्रपथ आयोजनामा चालु आर्थिक वर्षका लागि प्रदेश सरकारको सिफारिसमा संघीय सरकारले १० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । आयोजना प्रदेश सरकार मातहतमा भए पनि बजेट चाहिँ संघीय सरकारसँगै राखिएको थियो । पछि प्रदेश सरकारले बजेट पठाइदिन आग्रह गरेपछि उल्टै अर्थ मन्त्रालयले आयोजना नै संघमा तानिदिएको थियो ।
बोलपत्र आह्वान गरी सडक डिभिजन कार्यालयले विराटनगर–१२ बखरीदेखि ३५०० मिटर सडक निर्माण गर्ने गरी ठेक्का आह्वान गरेको डिभिजन कार्यालय विराटनगरका इन्जिनियर सन्तोष कापरले जानकारी दिए ।विराटनगर–१२ देखि बुढीगंगाको निमुवातर्फको काम चालु आर्थिक वर्षमा गर्ने उनले बताए । विनियोजित बजेटबाट ग्राभेल, एजिङ, क्रस ड्रेनेज आदि संरचनासहित कालोपत्रेको काम गरिने बताइएको छ ।
विराटनगर बाहिरी चक्रपथ निर्माण योजना २६ वर्षदेखि अलमलमा पर्दै आएको छ । ४२ किलोमिटर दुरीमध्ये दुई किलोमिटर अझै ट्रयाक खोल्न बाँकी छ ।
विराटनगर चक्रपथको हालसम्म ३७ किलोमिटर ग्राभेल, तीन किलोमिटर कालोपत्रे र दुई किलोमिटर ट्रयाक खोल्न बाँकी छ । मोरङको ग्रामथानस्थित झोराहाट र विराटनगरको दरैया वस्तीमा मुआब्जा विवादले ट्रयाक खुलेको छैन ।

