विराटनगर । दुई किलोभन्दा धेरै तौलका चाँदीको गरगहनासहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

मोरङको रंगेली नगरपालिका ७ कालिमन्दिर चोकमा भारतको अररिया जिल्ला आमगाछी पञ्चायत वडा नं. १३ बस्ने बर्ष २२ का मोहमद अलताफ चाँदीसहित पक्राउ परेका हुन् ।

आमबारी– बिराटनगर चल्ने को.१ ख ३२११ नम्बरको यात्रुबाहक बसमा रंगेली नगरपालिका ५ धनपट्टी बोडरबाट बिराटनगरतर्फबाट आएका अलताफले अवैध रुपमा चाँदी लुकाई–छिपाई लगेको गोप्य सूचनाको आधारमा शंका लागेर इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका भारतीय नागरिकको साथबाट प्रहरीले कालो झोलाबाट चाँदीको पाउजु ६९ जोडी, चाँदीको लोटा २५ थान, चाँदीको कलस ६ थान गरी २ केजी ५४८ ग्राम चाँदी सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद गरेको सामान सहित उनलाई इप्रका रंगेलीमा ल्याई थप अनुसान्धान भईरहेको मोरङ प्रहरीको भनाइ छ ।