विराटनगर । सरकार विस्तारमा ढिलाइ गरेको भन्दै आलोचना खेप्दै आएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बेमौसममा कर्मचारी सरुवा गरेको भन्दै आलोचना सुरु भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत रहेको यातायात कार्यालयहरुमा अहिले धमाधम कर्मचारी सरुवा भइरहेको छ ।
सामान्यतयः आर्थिक वर्षको सुरु भएलगत्तै कर्मचारी सरुवा गर्ने गरिएको भएपनि प्रदेश सरकारले पुस अन्तिमदेखि माघसम्मा यातायातका मात्र १६ जना कर्मचारी सरुवा गरेको छ ।
प्रदेशमा मालदार कार्यालयका रुपमा यातायत कार्यालयलाई लिइन्छ । यातायातका ८ वटा कार्यालय रहेपनि विराटनगर, इटहरी र बिर्तामोडका कार्यालयमा जान कर्मचारीहरु मरिहत्ते गर्ने गरेका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकले ७ जना कर्मचारी मुख्यमन्त्री कार्यालयले र ७ जना मन्त्रालयले आन्तरिक सरुवा गरेको जानकारी दिए । आठौँ तहसम्म मन्त्रालयले नै सरुवा गर्ने र ९ तहभन्दा माथिका कर्मचारी भने मुख्यमन्त्री कार्यालयले सरुवा गर्ने गरेको छ ।
मन्त्रालयले रविन्द्र कट्वाललाई झापाबाट इटहरी, शक्ति रेग्मीलाई विराटनगरबाट इटहरी, मन्त्रालयकै निर्मल मानन्धरलाई इटहरी, भापाका शाखा अधिकृत माधब बाँस्कोटालाई इटहरी, इटहरीबाट सम्भु शाहलाई झापा, बेनीबहादुर कार्कीलाई झापाबाट इटहरी सरुवा गरेको छ ।
आन्तरिक मामिला मन्त्रालयका सचिव लक्ष्मी पौडेलले मन्त्रालयको क्षेत्राधिकारभित्रको सरुवा गरिएको बताए । सरुवा विवादमुक्त बनेको छैन । दुई वर्षभन्दा धेरै समयदेखि यातायातमै रहेका कर्मचारीलाई यातायातकै अर्को कार्यालयमा खटाइएको छ । यस्तै मन्त्रालयका सचिव र मन्त्रीसँग निकट सम्बन्ध भएकाहरुले यातायातमा जान पाएका छन् ।
कम आम्दानी हुने यातायात कार्यालयमा डेढ वर्षसम्म बसेकालाई प्रदेशकै बढी आम्दानी हुने कार्यालयका रुपमा हेरिएको इटहरी र विर्तामोडका कार्यालयमा सरुवा गरिएको आरोप कर्मचारीहरुको छ ।
निजामती कर्मचारी संगठनका कोशी प्रदेश अध्यक्ष काशी पराजुलीले कर्मचारीहरुको सरुवाको मापदण्ड नबनाइ बेमौसमी सरुवा राम्रो नभएको बताएका छन् ।

