झण्डै एक महिना अगाडि कोशी प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद अम्बरबहादुर विष्ट निर्वाचित भए । उनले अहिलेसम्म प्रदेशसभाको एउटा बैठक मात्र चलाएका छन् । प्रदेशसभाको गत अधिवेशनको अन्तिम बैठक चलाएका विष्ट सभामुखमा निर्वाचित हुनुअघिसम्म प्रदेश संरचना खारेज गर्नुपर्ने माग प्रदेशसभामै गर्थे । उनी पुस २४ गते सबै दलको सहमतिमा सर्वसम्मत रुपमा सभामुख निर्वाचित भएपछि प्रदेश संरचनालाई बलियो बनाउनुपर्ने भूमिकामा छन् । पार्टीको नीति र पदीय जिम्मेवारीको चेपुवामा रहेका विष्टले प्रदेशसभालाई कसरी अगाडि बढाउन चाहेका छन् ? उनले प्रदेश खारेज गर्नुपर्छ भन्ने दृष्टिकोण बदलेका हुन् ? वा सभामुखको भूमिकामा रहेरै प्रदेशलाई कमजोर बनाउन लागिरहेका छन् ? यस उनीसँग गरिएको कुराकानी :
तपाई सभामुख भएपनि प्रदेशसभाका समितिहरुले सभापति पाएका पनि छैनन् । अब कसरी अगाडि बढ्ने तयारीमा हुनुहुन्छ ?
– हो, अहिलेसम्म सरकारले पूर्णता पाइरहेको छैन । कारण के हो भन्ने त थाहा भएन । मलाई जानकारीमा आएअनुसार केही दिनमा सरकारले पूर्णता पाउँछ । सरकारले पूर्णता पाएपछि फागुनको पहिलो हप्ताभित्रमा समितिको सभापति चयन सक्ने हाम्रो लक्ष्य छ । सभामुख बनाउँदा पनि सहमति नै भयो भने समितिका सभापति चयन पनि सहमतिबाटै फागुन पहिलो हप्ताभित्रै हुन्छ । त्यसपछि अरु विषयमा पनि विस्तारै काम अगाडि बढ्छ ।
संसदको अधिवेशन सरकारले कहिले बोलाउँछ या यस विषयमा तपाईसँग केही कुराकानी भएको छ ?
– संसदको अधिवेशन बोलाउनका लागि सरकारले विजनेस दिन सक्नुपर्यो । बिजनेसको तयारी त्यति छिट्टै होला जस्तो लागेको छैन । अहिलेसम्म सरकारले नै पूर्णता पाएको छैन । त्यसो भएको हुँदा एकैपटक वर्षे अधिवेशन पनि चल्नसक्छ । सरकारले बिजनेस दियो भने हिउँदे अधिवेशन पनि चल्नसक्छ ।
विगतमा तपाई प्रदेश खारेज गर्नुपर्ने पक्षमा हुनुहुन्थ्यो, अहिले प्रदेशमाथिका नकारात्मक टिप्पणी रोक्न प्रदेशले औचित्य पुष्टि गर्नुपर्छ भन्दै हुनुहुन्छ ? तपाईको विगतको पृष्ठभूमि र अभिव्यक्तिबीच विरोधाभाष छैन ?
– यो फरक–फरक कुरा होइन । हिजो म जुन पार्टीमा थिए, अहिले म त्यो पार्टीमा छैन । तर, म प्रष्ट छु । संघीयताको विरोध भन्दा पनि बोझिलो र खर्चिलो तीन तहको सरकार नेपालले थाम्न सक्दैन कि भन्ने हाम्रो कुरा हो । हिजो पनि कुरा त्यही हो र अहिले पनि त्यही हो । अब संघीयता बलियो हुनुपर्छ भने आर्थिक रुपले सम्पन्न हुनुपर्यो । यसले आफ्नो औचित्य पुष्टि गर्नुपर्यो । काम गर्न सक्नु पर्यो । एक वर्षयता हेर्दा सरकारले नै पूर्णता पाउन सकेको छैन । सभामुख नै बनाउँदा पनि यही कार्यकालमा दोस्रो पटकमा म बनेको हो । यसले नकारात्मक सन्देश गएको छ । अब यसलाई चिर्नका लागि पत्रकारका साथै सांसद र सिंगो प्रदेश लाग्नु पर्यो र आफ्नो औचित्य पुष्टि गर्नुपर्यो । औचित्य पुष्टि गरेर थाम्न सक्ने अवस्था आयो भने किन खारेज गर्नु पर्यो र ?
औचित्य पुष्टि गर्ने ठाउँमा त तपाई पनि हुनुहुन्छ नि त ?
– म प्रदेशले राम्रो गर्नुपर्छ भन्ने ठाउँमै छु । मैले मात्रै गरेर हुँदैन ।
औचित्य पुष्टि गर्नका लागि संसदको भूमिका महत्वपूर्ण हुन्छ । प्रदेशसभा जनताको आवाज बोल्ने थलो हो भन्ने हिसावले अगाडि बढाउने तपाईको योजना चाहिं के छ ?
– समितिका सभापतिहरु छिट्टै बन्छन् । त्यसपछि समितिहरु पनि समयसँगै एक्टिभ भएर जान्छ नै । कानूनहरु कार्यान्वयन गर्ने कुरामा पनि हामी कार्यक्रम राखेर सबैतिर सचेतना गराउने, गोष्ठी, कार्यक्रमहरु गर्ने दिशामा छौं । त्यो भन्दा पनि आर्थिक रुपले देश जुन जर्जर अवस्था छ । त्यो हाम्रो मात्रै बुँताको कुरा होइन राज्यले नै सोच्ने बेला भएको छ ।
संसदलाई नियमित क्यालेण्डर अनुसार चलाउने विषयमा संघीय संसदमा छलफल भइरहेको छ । प्रदेशसभामा त्यसबारे केही सोच्नु भएको छ ?
– हामी भर्खर भर्खरै आएका हौं । त्यस दिशामा हामी विस्तारै छलफल गरेर अगाडि बढ्छौं ।