संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकामा रहेको ऐतिहासिक धार्मिक महत्व बोकेको बरुण नदीबाट विद्युत उत्पादन गर्ने भएपछि यस नदीको अस्तित्व खतरामा पर्ने भएको छ । मौलिक पहिचान बोकेको र अलौकिक शक्तिसमेत रहेको विश्वास गरिने उक्त नदीको संरक्षण हुन नसक्दा यसको महत्व गुम्ने खतरा बढेपछि विद्युत उत्पादन नगर्न भनी रोक लगाइएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताए ।
भोटखोलाको १३ औं बैठकबाट धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्रको बरुण नदीमा विद्युत उत्पादन कार्यलाई रोक लगाउने निर्णय भएको अध्यक्ष भोटेले बताए । बरूण नदीबाट १३२ मेगावाटको जलविद्युत आयोजना निर्माणका लागि उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले गत कात्तिक २३ गते एमपिक इनर्जी प्राइभेट लिमिटेड कम्पनीले अनुमति दिएको थियो । विद्युत उत्पादनका लागि विद्युत विकास विभागले धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्रको अध्ययन नगरी एमपिक इनर्जी प्राइभेट लिमिटेड कम्पनीलाई विद्युत उत्पादनको अनुमति दिनु आपत्तीजन भएको गाउँपालिका अध्यक्ष भोटेले बताए ।
बरूण नदीबाट १३२ मेगावाटको जलविद्युत आयोजना निर्माणका लागि एमपिक इनर्जी प्राइभेट लिमिटेड कम्पनीले उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयमा अनुमति माग गरेको छ । ऐतिहासिक महत्वको मौलिक पहिचानको अस्तित्व खलल पार्ने किसिमबाट भएका गतिविधि कुनै हालतमा मान्य नहुने उनको भनाइ छ ।
ऐतिहासिक मौलिक पहिचान बोकेको धार्मिक पर्यटकीय क्षेत्र वरूण नदीबाट बिजुली उत्पादन गर्न नदिने भन्दै स्थानीयवासीहरुलेसमेत विरोध गरेका छन् । गोमुख गङ्गाको शीर बरूण नदी नै भएका कारण ८४ हजार पितृको उद्धारका लागि शिवजीले जटा फिँजाएर गङ्गाबाट सेचन लिएको स्थान वरुण नदी भएको पौराणिक मान्यता छ । यसरी पौराणिक महत्व बोकेको नदीको अहिले संरक्षण नहुँदा भोली त्यसको अस्तित्व हराउन सक्ने स्थानीयवासी बताउँछन् । सत्य युगमा जलका देवता इन्द्रले संरक्षण गरेका चार दिक्पालमध्ये दोस्रो दिक्पालका रूपमा बरूणलाई लिएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । यस नदीको पानीको रङसमेत अन्य नदीको भन्दा फरक अर्थात् नीलो छ । बरुण नदी किनारमा माघ १ गते लाग्ने मकर मेला, भोट क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाबीचमा भेटघाट गर्ने मुख्य थलोको रूपमा लिइने गरिन्छ । वरुण नदीलाई हिन्दु तथा बौद्ध धर्मावलम्बीले उत्तिकै महत्वका साथ हेर्ने गर्दछन् । अरुण र वरुण नदीलाई मामा र भान्जाकोसमेत संज्ञा दिएको पाइन्छ । त्यसैगरी, भोटे सम्प्रदायमा बरूण ठेनेम्बा र हटिया ठेनेम्बा भनेर चिनिने दुई छाँगा पनि सोही नदीमा रहेका छन् । यो नदीलाई पत्थर चिरेको नदी भनेरसमेत चिनिन्छ । बरुण नदीमा माघ १ गतेका दिन मकर नुहाउने गरिन्छ । जिल्ला तथा जिल्ला बाहिरका दर्शनार्थी सो नदीमा मकर नुहाउन पुग्ने गरेका छन् ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।