विराटनगर । उदयपुरको रौतामाई गाउँपालिका–२, डाङ्सिनटारस्थित अस्पताल भवनको निर्माण कार्य अलपत्र भएको छ । निर्माण कम्पनीका ठेकेदारले बिचैमा काम छोडेर हिडेका कारण निर्माण कार्य अलपत्र बनेको हो ।
दुर्गम क्षेत्रका करिब १५ हजार मानिसलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले १८ महिना पहिले निर्माण सुरु गरिएको १५ शय्याको भुट्टार अस्पतालको अहिलेसम्म जग अर्थात् फाउन्डेसन निर्माणसमेत पूरा हुन सकेको छैन । काठमाडौँको आर एन्ड सिएसबेकन ज्वाइन्ट भेन्चर निर्माण कम्पनीले २०८१ साल भदौ १५ सम्ममा सम्पूर्ण काम सम्पन्न गर्ने गरी २०७९ साल असार २४ गते सम्झौता गरेर भवन निर्माणको काम सुरु गरेको र सो अनुसार तीन करोड रुपियाँ मोबिलाइजेसनबापत भुक्तानी लगेपछि कम्पनीका ठेकेदार छ महिनादेखि अस्पताल बनाउन फर्केर नआएको रौतामाई गाउँपालिकाका सबइन्जिनियर दीपेन्द्र श्रीवास्तवले बताए ।
दुर्गम क्षेत्रका सुत्केरी महिला, वृद्धवृद्धा, बालबालिका तथा आमसर्वसाधारणलाई सहज र सरल रूपमा स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न नेपाल सरकारको सङ्घीय सरकारबाट बजेट विनियोजन भई आएको र रौतामाई गाउँपालिकाको केन्द्र रहेकै स्थानमा सो अस्पताल निर्माण गर्न सुरु गरिएकामा थप रकमसमेत निकासा नआएको सबइन्जिनियर श्रीवास्तवले बताए ।
अस्पतालका लागि आवश्यक पर्ने उपचार कक्षसहितको सुविधासम्पन्न आधुनिक डिजाइनमा तीन तलाको सो अस्पताल भवन बनाउन रौतामाई गाउँपालिकाले १६ करोड १३ लाख रुपियाँको लागतमा सम्पूर्ण काम सम्पन्न गर्ने गरी उक्त निर्माण कम्पनीसँग सम्झौता गरेकामा अब सात महिना मात्र समय बाँकी रहेको तर काम भने पाँच प्रतिशत पनि पूरा नभएकाले निर्धारित समयसीमाभित्र अस्पताल भवन निर्माणको काम सम्पन्न हुन नसक्ने निश्चित भएको उनले बताए ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।