नेपाल भारतसँग पराजित

विराटनगर । दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा नेपाल पराजित भएको छ । प्रतियोगिताबाट बाहिरिसकेको नेपालले शुक्रबार आफ्नो अन्तिम खेलमा बलियो टिम भारतको सामना गरेको थियो ।

दक्षिण अफ्रिकाको ब्लमफन्टेनस्थित मंगाउङ ओभलमा भएको खेलमा नेपालले भारतसँग एक सय ३२ रनले हार बेहोरेको हो । भारतले दिएको दुई सय ९८ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित ४० ओभरमा नौ विकेट गुमाउँदै एक सय ६५ रन बनाएको हो ।

नेपालका लागि कप्तान देव खनालले ५३ बलमा ३३ रन जोडे भने दुर्गेश गुप्ताले अविजित रहँदै २९ रन जोडे । यसैगरी, अर्जुन कुमालले ६४ बलमा २६ रन बनाए भने दीपक बोहोराले ४२ बलमा २२ रन बनाए । आकाश चन्द अविजित रहँदै १८ रन जोड्दा उत्तम थापामगर ८ रन बनाउँदा सुवास भण्डारी ५ रनमा आउट भए ।

बलिङतर्फ भारतका सौम्यकुमार पाण्डेले चार विकेट लिए भने अर्सिनी कुलकर्नीले दुई विकेट झारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय ९७ रन बनाएको थियो । भारतका लागि सचिन दास र कप्तान उदय सरनले शतकीय पारी खेले । सचिनले एक सय १६ रन बनाउँदा उदयले एक सय रन जोडे ।

ओपनर आर्दश सिंहले २१, प्रियांशु मोलियाले १९, आर्सिन कुलकर्नीले १८ र मुसिर खानले अविजित नौ रन बनाए । बलिङमा नेपालका गुलशन झाले तीन तथा र अकाश चन्दले एक विकेट लिए ।

सुपर सिक्सको खेलअघि नै सेमिफाइनल दौडबाट बाहिरिएको नेपालले जारी विश्वकपमा पाँच खेल खेल्दा चारमा पराजय बेहोर्‍यो । विश्वकपमा समूह ‘डी’ बाट प्रतिस्पर्धा गरेको नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो ।

दोस्रो खेलमा नेपालले पाकिस्तानसँग पाँच विकेटको हार खेपेको थियो । तर, तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले हराउँदै सुपर सिक्समा स्थान बनाएको थियो । तर, सुपर सिक्सका खेलमा भारत र पाकिस्तान दुवै टोली विजयी भएपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको थियो ।

प्रतियोगिताबाट बाहिरिसकेको भए पनि औपचारिकता पूरा गर्दै बुधबार बंगलादेशसँग खेलेको नेपालले पाँच विकेटको हार बेहोरेको थियो । नेपाललाई हराएसँगै भारत सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ ।

शुक्रबार, १९ माघ, २०८०, रातीको १०:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर