विराटनगर- दक्षिण अफ्रिकामा जारी यु-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपाल बंगलादेशसँग पराजित भएको छ । बुधबार दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा भएको खेलमा नेपालले बंगलादेशसँग ५ को हार बेहोरेको हो ।
नेपालले दिएको एक सय ७० रनको लक्ष्य पछ्याएको बंगलादेशले २५ ओभर दुई बलमा पाँच विकेट गुमाउँदै भेट्टायो । बंगलादेशका आरिफुल इस्लामले सर्वाधिक ५९ रन बनाउँदै नट आउट रहे भने जिशन आलमले ५५ रन जोडे । त्यस्तै बंगलादेशका आशिकुर रहमान शिब्लीले १६ रन बनाए ।
नेपालका सुवास भण्डारीले बंगलादेशको पाँचवटै विकेट झारेका थिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर सकिन एक बल बाँकी रहँदा १ सय ६९ रनमा अल आउट भएको थियो । नेपालका लागि विशाल विक्रम केसीले सर्वाधिक ४८ रन बनाए भने कप्तान देव खनालले ३५ जोडे ।
अर्जुन कुमालले १४ रन बनाउँदा विपिन रावलले २, आकाश त्रिपाठीले ३, गुल्शन झाले ३, दीपक बोहोराले ३, दुर्गेश गुप्ता ९ र आकाश चन्द शून्य रनमै पेभेलियन फर्किएका थिए । सुवास भण्डारी भने १८ रनमा अविजित रहे ।
यो खेल नेपालका लागि औपचारिकता मात्र थियो । सुपरसिक्सअन्तर्गत मंगलबार भएका खेलमा भारत र पाकिस्तान विजयी भएसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको थियो ।
सुपरसिक्सको एउटा समूहबाट शीर्ष दुई टोली मात्र सेमिफाइनलमा पुग्छन् । समूह १ का भारत र पाकिस्तान सेमिफाइनल पुगे ।