विराटनगर । नेपाल दक्षिण अफ्रिकामा जारी आइसिसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेको छ । शुक्रबार समूह चरणको अन्तिम खेलमा अफगानिस्तानमाथि एक विकेटको जित निकाल्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको हो ।
इस्ट लन्डनस्थित बफेलो पार्क मैदानमा अफगानिस्तानले नेपाललाई दिएको एक सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ओभरमा नौ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालका कप्तान देव खनालले अर्धशतक बनाएका थिए । कप्तान खनालले ८९ बलमा सात चौकासहित ५८ रन बनाए । यस्तै, दीपक बोहोराले २७ रन बनाए भने आकाश त्रिपाठीले १६ तथा अर्जुन कुमालले १० रन बनाए । नेपालका अरू बलरले भने दोहोरो अंकको रन बनाउन सकेनन् ।
अफगानिस्तानका फारिदुन दाउजदाइले तीन तथा खालिद अहमदले दुई विकेट लिए ।
त्यसअघि टस हारेर बलिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा १० विकेट लिँदै अफगानिस्तानलाई १४५ रनमा समेटेको थियो । आफगानिस्तानका लागि गाजनफरले सर्वाधिक ३७ रन बनाए भने नशिर खानले ३१ रन जोड्दा फ्रिदोनले २९ रनको योगदान गरे ।
अफगानिस्तानलाई मध्यम स्कोरमा समेट्न नेपालका लागि आकाश चन्दले सर्वाधिक पाँच विकेट लिए । दिपेश कँडेलले दुई विकेट लिए भने गुल्सन झा, तिलक भण्डारी र सुवास भण्डारीले एक-एक विकेट लिए ।
समूह ‘डी’ अन्तर्गत नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । यस्तै, नेपाल दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो ।
यसअघि नै समूहमा लगातार दुई जित निकालेको पाकिस्तान र न्युजिल्यान्ड चार चार अंक जोड्दै सुपर सिक्समा पुगिसकेका छन् । विश्वकपमा नेपालले समूह ‘डी’ बाट प्रतिस्पर्धा गरेको हो । यस समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेको छ ।