यु-१९ विश्वकप क्रिकेट : नेपालको लगातार दोस्रो हार

विराटनगर । दक्षिण अफ्रिकामा जारी १५औं संस्करणको आइसिसी यु-१९ विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बुधबार आफ्नो दोस्रो खेल खेलेको नेपालले पाकिस्तानसँग पाँच विकेटको हार बेहोरेको हो ।

इस्टलन्डनमा नेपालले दिएको एक सय ९८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४७ ओभर ४ बलमा पाँच विकेट गुमाएर पूरा गरेको हो । पाकिस्तानका लागि अजन आविसले ६३ रनको अर्धशतकीय पारी खेले । ८२ बल खेलेका उनले ६ चौका प्रहार गरे । सम्यल हुसेन र साजिव खानले ३७–३७ रनको योगदान गरे ।

त्यस्तै, अहमद हसनले २९ रन बनाउँदा हरोन अर्सादले १५ रनको योगदान गरे । नेपालका लागि आकाश चन्दले तीन विकेट लिँदा दिपेश कँडेल र आकाश त्रिपाठीले एक–एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अल आउट हुँदै १९७ रन बनाएको थियो । नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै, दीपक डुम्ररे २६ रन बनाउँदा कप्तान देव खनालले २३ रन बनाए । नेपालका सुवास भण्डारीले २० रन बनाउँदा आकाश चन्दले १६ रन जोडे ।

पाकिस्तानका लागि अर्फाद मिन्हासले तीन विकेट लिँदा उबैद साह र अहमेद हुसेनले दुई–दुई विकेट लिए ।

यसअघि आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो ।  आजको खेलमा पराजित भएसँगै नेपालको प्रतियोगिताको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना कमजोर भएको छ ।

अब, नेपालले तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ । यो खेल २६ तारिखमा हुने छ । नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकप खेलिरहेको छ । यसअघि नेपालले सन् २०१६ मा विश्वकप खेलेको थियो ।

त्यसबेला नेपालले क्वार्टरफाइनलसम्मको यात्रा तय गरे पनि अन्तिम आठको खेलमा बंगलादेशसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो । यसपालिको विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।

सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको हो । यस्तै, समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् भने समूह ‘बी’ मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड रहेका छन् । समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन् । समूहमा शीर्ष दुई टोली अर्को चरण (सुपर आठ) मा पुग्नेछन् ।

बुधबार, १० माघ, २०८०, रातीको ०९:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर