विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारू संस्कृति गौरवको संस्कृति भएकोले प्रदेश सरकारले संरक्षण गर्ने बताएका छन् ।
थारू कल्याणकारणी सभाले मंगलबार सुनसरीको बर्जुमा आयोजना गरेको चौथो बर्जु माघी महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले थारू संस्कृति अतिक्रमित भइरहेकोले संरक्षण गर्दै अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिए ।
थारू संस्कृतिलाई गौरवपूर्ण बनाऔं र यसको अन्तर्राष्ट्रियकरण गरौं भन्दै मुख्यन्त्रीले भने, ‘थारू संस्कृति प्रदेशको ठूलो सम्पति हो, यसलाई मास्न दिनुहुँदैन ।’ थारू समुदायको घरको भित्तामा महिलाहरूले बनाउने चित्र सम्पत्ति भएकोले त्यो मासिन नहुने उनको भनाइ छ ।
‘थारू संस्कृति, समाजको कथा र व्यथा झल्किने भित्ता भएको घरलाई थारू होमस्टे बनाएर बाहिरबाटआएका मान्छेलाई मेजवानी राखौं’ उनले भने, ‘होमस्टेमा आउने पाहुनालाई थारू परिकार, नृत्य, गीत, कथा, कहानी, गौरवमय इतिहास सुनाउनुका साथै चित्रकला, थारूको ग्राम थानलगायतका संस्कृतिको अध्ययन गराउनु पर्छ जसले थारू संस्कृतिका साथै प्रदेश र देशको गौरव बढाउँछ ।’ प्रदेश सरकारले सम्पूर्ण थारू, राजवंशीलगायतका आदिवासी, जनजाति, अल्पसंख्यकको भाषा, संस्कृति संरक्षण, सम्बर्धन, अध्ययन, अनुसन्धान र विकासका लागि बजेट विनियोजन गरेर काम अघि बढाएको उनले जानकारी दिए ।
महाभारतकालको पौराणिक ईतिहास बोकेको बर्जु पछि परेकोले प्रदेश सरकारले विराटनगरसँग जोडेर सहरको रूपमा विकास गर्न केसलियाको दुबै किनारमा सडक निर्माण गर्न गइरहेको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।

