नेपाल न्युजिल्यान्डसँग पराजित

विराटनगर । दक्षिण अफ्रिकामा जारी आइसिसी यु-१९ विश्वकप क्रिकेटमा नेपालले न्युजिल्यान्डसँग हार बेहोरेको छ । आइतबार आफ्नो पहिलो खेल खेलेको नेपाली यु–१९ क्रिकेट टोली न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो ।

इस्ट लन्डनमा न्युजिल्यान्डले दिएको तीन सय तीन रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै मात्र दुई सय ३८ रनमा समेटियो ।

नेपालका लागि अर्जुन कुमालले ९० रनको अर्धशतकीय पारी खेले । शतक बनाउनबाट १० रनले चुकेका उनले एक सय चार बलमा १२ चौका प्रहार गरे । नेपालका कप्तान देव खनालले ३६ रन बनाउँदा सुवास भण्डारीले ३३ तथा दीपक बोहराले १५ रन जोडे ।

न्युजिल्यान्डका लागि मसोन काल्करले तीन विकेट लिए भने वाल सेल्डरले र अस्कर ज्याकसनले दुई–दुई विकेट लिँदा माट रोय र जेस कमिङले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै तीन सय दुई रन बनाएको थियो । न्युजिल्यान्डका लागि सेन्हिथ रेड्डीले १४७ रनको शतकीय पारी खेले भने कप्तान ओस्कर ज्याक्सनले ७५ रनको अर्धशतकीय पारी खेले । न्युजिल्यान्डका टोम जोनेसले ३३ रन बनाउँदा लुक वाट्सनले १४ रन बनाए ।

नेपालका लागि सुवास भण्डारीले तीन विकेट लिए । त्यस्तै गुलशन झाले दुई विकेट लिँदा दीपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले एक–एक विकेट लिए ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले दोस्रो खेल जनवरी २४ मा पाकिस्तान र अन्तिम खेल २६ तारिखअफगानिस्तानसँग खेल्नेछ । सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको हो ।

यस्तै, समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् भने समूह ‘बी’ मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड रहेका छन् । समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन् । समूहमा शीर्ष दुई टोली अर्को चरण (सुपर आठ) मा पुग्नेछन् ।

आइतबार, ०७ माघ, २०८०, रातीको १०:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर