यु-१९ विश्वकपमा आज नेपालले न्युजिल्यान्डको सामना गर्दै

विराटनगर । दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटमा नेपालले आज पहिलो खेल खेल्दै छ । आफ्नो पहिलो खेलमा नेपालले न्युजिल्यान्डको समाना गर्दै छ । यो खेल नेपाली समयअनुसार आज दिउँसो १:४५ बजे सुरु हुनेछ ।

नेपाल आज न्युजिल्यान्डविरुद्धको अपराजित यात्रालाई कायम गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ । यु–१९ विश्वकपमा यसअघि न्युजिल्यान्डविरुद्ध दुई पटक खेलेको नेपालले दुवै खेलमा जित निकालेको छ ।

नेपालले सन् २००६ मा भएको विश्वकपमा एक विकेटले र सन् २०१६ मा भएको विश्वकपमा ३२ रनले न्युजिल्यान्डलाई हराएको थियो । नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१६ मा विश्वकप खेलेको थियो ।

त्यसबेला नेपालले क्वार्टरफाइनलसम्मको यात्रा तय गरे पनि अन्तिम आठको खेलमा बंगलादेशसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो ।

विश्वकपअघि नेपालले दक्षिण अफ्रिकामा तीनवटा अभ्यास खेलसमेत खेलिसकेको छ । जसमा नेपालले स्कटल्यान्ड र नामिबियालाई हराएको थियो । वेस्ट इन्डिजसँगको खेल वर्षाका कारण रद्द भएको थियो ।

यु–१९ विश्वकपमा नेपालको प्रदर्शन विगतमा पनि राम्रो भएको थियो । नेपालले न्युजिल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान, जिम्बावे, बंगलादेश र आयरल्यान्डजस्ता टोलीलाई हराएको थियो । यसपटक पनि नेपाली टोलीबाट राम्रो आशा गरिएको छ ।

दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपालसहित १६ देशले भाग लिँदै छन् । विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले दोस्रो खेल जनवरी २४ मा पाकिस्तान र अन्तिम खेल २६ तारिखअफगानिस्तानसँग खेल्नेछ । सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको हो ।

यस्तै, समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् भने समूह ‘बी’ मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड रहेका छन् । समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन् । समूहमा शीर्ष दुई टोली अर्को चरण (सुपर आठ) मा पुग्नेछन् ।

नेपाली टोलीको प्रशिक्षकमा जगत टमटा रहँदा कप्तानमा देव खनाल छन् । यस्तै, अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, दीपक बोहोरा, तिलकराज भण्डारी र आकाश चन्द टोलीमा छन् ।

आइतबार, ०७ माघ, २०८०, बिहानको ०७:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर