विराटनगर । बलात्कार मुद्दामा दोषी ठहर भएका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको सजाय आज तोकिँदै छ । पुस १३ गते अदालतबाट दोषी ठहर भएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको छ ।
जिल्ला अदालत काठमाडौँले मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला गरेको छ । जसअनुसार बलात्कार अभियुक्तलाई सातदेखि १० वर्ष जेल सजाय हुने उल्लेख छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।
अदालतले पीडित किशोरी गौशाला २६ को उमेर घटना हुँदा १८ वर्ष पूरा भइसकेको पनि ठहर गरेको छ । तर, पीडित बालिग भए पनि सन्दीपले कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै बलात्कार गरेको ठहर गरेको छ ।
गत वर्षको भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर युवतीलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । भदौ २१ गते युवतीले सन्दीपले आफूलाई पटक-पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन् । इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए ।
सन्दीपलाई गत वर्ष पुष २८ गते उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, विदेश जान नपाउनेगरी आदेश आएपछि उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्तको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च पुगेका थिए ।
सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश केही उल्ट्याएर राष्ट्रिय खेलाडी भएको भन्दै सन्दीपलाई विदेश जाने अनुमति दिएको थियो । तर, जिल्ला अदालत काठमाडौंले उनलाई दोषी ठहर गरेको हो ।
यता, जिल्ला अदालतको फैसला चित्तबाुझ्दो नभएको सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने बताउँदै आएका छन् ।