नेपालले स्कटल्यान्डलाई हरायो

काठमाडौँ । नेपाली यु–१९ क्रिकेट टोलीले अभ्यास खेलमा स्कटल्यान्डमाथि सहज जित हात पारेको छ । दक्षिण अफ्रिकामा मंगलबार भएको खेलमा नेपालले स्कटल्यान्डलाई एक सय ३५ रनले हराएको हो । गुलसन झाले अलराउन्डर प्रदर्शन गरेपछि नेपालले स्कटल्यान्डमाथि सहज जित आत्मसात् गरेको हो ।

जितको लागि दुई सय ८५ रनको विशाल विजयी लक्ष्य पछ्याएको स्कटल्यान्ड ४३.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४९ रनमा समेटिएको थियो । स्कटल्यान्डका लागि उजैर अहमदले २८ बनाए भने खानले २४ रन बनाए । अरू खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

बलिङमा नेपालका तिलकराज भण्डारीले तीन तथा आकाश चन्दले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ८४ रन बनाएको थियो । नेपालका लागि गुलसन झाले एक सय १४ रनको शतकीय पारी खेले भने दीपक बोहराले अविजित ५८ रन बनाए ।

जनवरी १९ देखि फेब्रुअरी ११ तारिख सम्म दक्षिण अफ्रिकामा आयोजना हुने यु–१९ विश्वकपका लागि नेपाली टोली अहिले दक्षिण अफ्रिकामा छ ।

विश्वकप अघि नेपालले १३ जनवरीमा स्कटल्यान्ड र १६ जनवरीमा वेस्टइन्डिजसँग ‘वार्मअप’ खेल पनि खेल्नेछ । विश्वकपमा भने नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् । समूहमा शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् ।

मङ्गलबार, २४ पुष, २०८०, रातीको ०८:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर