विराटनगर । राष्ट्रिय सभाको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदै छ । कोशी प्रदेको विराटनगरमा यसअघि नै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।

कोशीमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, माओवादीबाट चम्पादेवी कार्कीले १० बजे नै उम्मेदवारी दर्ता गर्ने भएका छन् । सत्ता गठबन्धनमा एकै पटक उम्मेदवारी दर्ता गर्ने सहमति भएकोले बिहान १० बजे नै उम्मेदवारी दर्ताको समय लिएको कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्धव थापाले बताए । उम्मेदवारी दर्ता गर्ने नेता सिटौला राति नै विराटनगर आइपुगेको बताए ।

सत्तारूढ गठबन्धनको भागबन्डाअनुसार कोशीमा अन्यतर्फ कांग्रेसले र महिलातर्फ माओवादीले उम्मेदवार उठाउने तय भएको थियो । माओवादीले महिलामा ओखलढुंगाकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको छ ।

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिटौला गत प्रतिनिधिसभा निर्वाचनमा झापा ३ बाट पराजित भएका थिए ।

कोशीबाट नेकपा एमालेले अन्यमा भोजपुरका परशुराम अधिकारी र महिलामा सुनसरीकी रुक्मिणी कोइरालालाई उम्मेदवार बनाउने भएको छ । अधिकारी एमालेको केन्द्रीय सदस्य एवं जिल्ला सह–इन्चार्ज छन् भने कोइराला सुनसरीको इटहरी निवासी महिला नेतृ हुन् ।

उनले गत स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकाको उपमेयरको दाबी गरे पनि टिकट पाएकी थिइनन् । एमालेले भने १ बजे उम्मेदवारी दर्ता गर्ने भएको छ । निर्वाचन अधिकृतको कार्यालयले १ बजेको समय छुट्टाएको एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले बताए ।

कोशीबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका उपाध्यक्ष रहेका उद्धव पौडेललाई उम्मेदवार बनाउने भएको छ । चलचित्रकर्मीसमेत रहेका पौडेल विराटनगरका मतदाता भए पनि उनी पछिल्लो समय काठमाडौं बस्दै आएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका ससुरा हुन् ।