विराटनगर । विराटनगर – ९ स्थित सरस्वती माध्यमिक विद्यालयमा एक सय बढी विद्यार्थी परीक्षा दिनबाट बन्चित भएका छन् ।
विद्यालयले लिएको आन्तरिक परीक्षामा शुल्क नबुझाएको भन्दै एक सय बढी विद्यार्थीलाई स्कुल प्रशासनले आइतबार परीक्षा दिनबाट बन्चित गराएको हो ।
शिक्षा ऐन अनुसार सरकारी विद्यालयले विद्यार्थीहरूसँग शुल्क उठाउन नमिल्ने प्रस्ट उल्लेख गरेको छ । तर, सरस्वतीसहित यहाँका अधिकाशं सामुदायिक विद्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा शुल्क असुल्दै आएको छ ।
नेपाली र अंग्रेजी माध्यमबाट पढाई हुने सरस्वतीमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई परीक्षा शुल्क बापत डेढ सय देखि दुई सय रुपैयाँसम्म उठाउने गरेको छ । यसरी गैर कानुनी तरिकाले परीक्षाको नाममा लिएको शुल्क नबुझाउँदा विद्यार्थी परीक्षा हलबाट निकालेर घर पठाएको पाइएको छ ।
विद्यालयले दोस्रो त्रैमासिक परीक्षा १९ पुसबाट लिन सुरु गरेको छ । पहिलो दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा भइसकेको छ । तेस्रो दिनको आइतबार गणित विषयको परीक्षामा शुल्क नबुझाएपछि परीक्षा दिनबाट विद्यालयले रोक लगाएको हो । ‘सामुदायिक विद्यालयमा मासिक र परीक्षा शुल्क केही पनि लिन नपाउने प्रावधान छ,’ विद्यालयले एक जना शिक्षकले भने, ‘विद्यालयले भने परीक्षा शुल्कका नाममा विद्यार्थीलाई परीक्षा हलमै बस्न नदिनु विद्यालय प्रशासनको गैर जिम्मेवारी कार्य हो ।’ ती विद्यार्थीले बिहीबार अंग्रेजी र शुक्रवार नेपाली विषयको परीक्षा भने दिएका थिए । ‘परीक्षा दिनबाट बन्चित भएपछि केही विद्यार्थी रोएका थिए । उनीहरूको माया लागेपछि हामी केही शिक्षक मिलेर पैसा उठाएर ४÷५ जना विद्यार्थीको परीक्षा शुल्क तिरिदिएका थियौँ । त्यसपछि ती विद्यार्थीले परीक्षा दिए । नबुझाउनेहरू परीक्षाबाट बन्चित भएका थिए ।’
सरस्वती माविका व्यवस्थापक समितिको अध्यक्ष विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाका काकी अजिता कोइराला रहेकी छिन् । यो विद्यालयमा कक्षा ६ देखि कक्षा १२ सम्म पढाइ हुने गर्दछ । अहिले परीक्षा ६ देखि १० सम्म भएको हो । परीक्षा करिब साढे पाँच सय विद्यार्थी रहेका छन् ।
विराटनगर महानगरपालिका शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराईले परीक्षा शुल्क नबुझाएको भनेर विद्यार्थीलाई परीक्षाबाट बन्चित गराउने काम गलत भएको बताए । ‘शुल्क नदिएको भनेर विद्यार्थीलाई परीक्षाबाट बन्चित गराउनु हुँदैन । यदि हो रहेछ भने तत्काल बन्चित भएका विद्यार्थीलाई परीक्षामा सामेल गराउन मैले निर्देशन पनि दिएको छु,’ उनले भने, ‘सोमबार विद्यालयमा गएर निरीक्षण गरेर यथार्थ कुरा बुझ्नेछु ।’ यदि परीक्षामा शुल्क नबुझाएको कारणले परीक्षाबाट बन्चित गराएको पाइए विद्यालय प्रशासनलाई कारबाहीको दायरामा ल्याउने उनले बताए । शिक्षा ऐन अनुसार पनि सामुदायिक विद्यालयले विद्यार्थीहरूबाट कुनै प्रकारको पनि शुल्क नउठाउनु भनेर प्रस्ट बताएको उनले बताए ।
विद्यालयकी प्राचार्य अनिता नेपालले परीक्षा हलबाट निकालिएका करिब ५० जना विद्यार्थीको ७५ प्रतिशत हाजिरी नपुगेको पाइएपछि अभिभावक लिएर आउनु भन्दै घर पठाएको बताइन् । उनीहरूको आइतबारको परीक्षा अन्तिम दिन लिने तयारी गरिएको उनको भनाइ छ । ‘आज परीक्षाबाट बञ्चित गरिएका विद्यार्थीले सोमबार अभिभावक लिएर आउँछन् अनि अन्तिम दिन आइतबार लिने भनिएको उनीहरूको गणित विषयको परीक्षा लिइने छ,’ प्रअ नेपालले भनिन् ।
विद्यालयले विद्यार्थीबाट स्वइच्छाले सहयोग शुल्क लिएको प्राचार्य नेपालले बताइन् । ‘हामीले मात्र सहयोग शुल्क लिएको होइन । यहाँका धेरै सामुदायिक विद्यालयहरूले लिने गरेका छन् । निजी स्रोतबाट राखेको शिक्षकलाई तलब खुवाउन अभिभावकबाट सहयोग लिएको हो,’ उनले भनिन्, ‘त्यो पनि सरकारले नलिनु भन्यो भने हामी लिने छइनौं ।’ विद्यालयले अभिभावक सहयोगका नाममा सामान्य शुल्क लिने गरेको उनले बताइन् ।


