विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १४ वडा कार्यालयले २०७९ सालमा सामुदायिक बिद्यालयबाट एसईइ पास गरेको छात्राहरुलाई साईकल वितरण गरेको छ ।

वडाबाट एसईइ पास गरेको विद्यार्थीहरुको उच्चशिक्षा अध्ययनका लागि सहजता थप्न साइकल वितरण गरिएको वडाध्यक्ष सूर्यनारायण महतोले बताए । वडा वडास्तरीय बजेटबाट कार्यक्रम बनाइ साइकल वितरण गरिएको उनको भनाइ छ । कार्यक्रममा ३० जना छात्रालाई साईकल वितरण गरिएको थियो । एसईइ गरेर विभिन्न कारणले छात्राहरु उच्च शिक्षा हासिल गर्नबाट वञ्चित हुँदै आएकोले वडाले भौतिक विकाससँगै शैक्षिक विकास पनि आवश्यक रहेकोले उक्त उद्देश्य पूरा गर्न र शिक्षा क्षेत्रमा छात्राहरुलाई अगाडि बढाउने उद्देश्यले साइकल वितरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले विराटनगर–१४ नम्बर वडामा भौतिक मात्र नभए शैक्षिक विकासलगायत हरेक क्षेत्रको विकासको लागि अगाडि बढ्नु पर्नेमा जोड दिए । वडाको विकासको लागि समाजसेवी र जनप्रतिनिधिहरु दल भन्दा माथि उठेर अग्रसर हुन उनले आग्रह गरे । स्थानीय आवश्यकताको आधारमा बनाइएको बजेटले सकरात्मक प्रभाव पार्ने भन्दै साइकल वितरणले वालिकाहरुमा अध्ययन गर्नु पर्छ भन्ने हौसला मिल्ने विश्वास व्यक्त गरे ।

एसईइपछिको उच्च शिक्षाका लागि वडा कार्यालयले सहजताको लागि साइकल दिएकोमा छात्रा सिवानी राउतले खुशी व्यक्त गरे । उनले यसले अझ मेहेनत गर्न र थप अध्ययनको लागि उर्जा प्रदान गरेको बताए । कार्यक्रममा सहभागीहरुले वडाले छात्रा लक्षित कार्यक्रमको सुरुवात गरेर राम्रो कार्यको थालनी गरेको भन्दै सहभागीले नीजि विद्यालयबाट एसईइ दिएकाहरुलाई पनि सहयोग गर्न आग्रह गरे । कार्यक्रममा प्रदेशसभा सदस्य गीतारानी महतो, नेपाली काँग्रेस बुथ सभापति प्रदीप यादवलगायतको सहभागीता रहेको थियो ।