सिटिस्क्यान खरिद प्रक्रिया विवादबारे मुख्यमन्त्रीको चासो, कुनै गडबडी नभएको केन्द्रको दावी

विराटनगर । कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको लागि सिटीस्क्यान मेसिन खरिद गर्ने आह्वान गरेको टेण्डर प्रक्रिया विवादमा परेको छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले गत कार्तिक २४ गते १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिदका लागि आह्वान गरेको टेण्डरमा मिलेमतो भएको आरोप लागेको हो । सुरुमा इबिङिङ पेश गर्ने मिति पुस ९ गतेसम्म राखिएको भएपनि अध्ययनमा समय लागेको भन्दै त्यसलाई सच्याएर पुस १७ गतेसम्मको समय थपिएको थियो । सो अबधिमा एक मात्र प्रस्ताव परेको छ ।

केन्द्रको टेण्डर प्रक्रिया विवादमा पर्नुको कारण टेण्डर आह्वान गर्दा उल्लेख भएको टेण्डर खोल्ने स्थान हो । केन्द्रले टेण्डर खोल्ने स्थान आपूर्ती व्यवस्थापन केन्द्र विराटनगर उल्लेख गर्नुपर्नेमा नरदेवि अस्पताल मैतिदेवि उल्लेख गरेको थियो । यसअघि काठमाडौंको सो अस्पतालले पनि सिटि स्क्यान मेसिन खरिद गरेकोमा अहिले मिलेमतोमा त्यहाँको स्पेसिफिकेशन राख्दा स्थान पनि त्यहि परेको आरोप केन्द्रमाथि छ ।

मंसिर २४ गते आपूर्ती केन्द्रले सप्लायर्सहरुसँग राखेको प्रि–बिड बैठकमा सप्लायर्सहरुले स्थानको बारेमा प्रश्न गेपछि मात्र केन्द्रले स्थान सच्याएको थियो । केन्द्रका प्रमुख मण्डल भने त्यो मानवीय त्रुटी मात्र भएको बताउँछन् ।

केन्द्र खरिद गर्न लागेको सिटिस्क्यानको स्पेसिफिेकशन चिनिया उत्पादन निओसफ्ट कम्पनीसँग मिल्दोजुल्दो राखिएको आरोप लागेको छ । सो कम्पनीको नेपाली सप्लायर्सको मिलेमतोमा खरिद प्रक्रिया अगाडि बढेको आरोप लागेको हो । प्रतिस्पर्धामा ६ करोड हाराहारी पर्ने मेसिन सवा ७ करोडभन्दा बढिमा खरिद गर्न लागिएको आरोप पनि लागेको छ ।

यस्तै पुस ९ गतेको लागि टेण्डर भर्ने अन्तिम मिति तोकिएकोमा १७ गतेसम्म पु¥याउनु र प्रि–बिड बैठकमा सप्लायर्सहरुले स्पेशिफिकेशन सम्बन्धमा राखेको चासो पनि निओसफ्टका सप्लायर्सको मात्र सम्बोधन गर्नुमा मिलेमतो रहेको आरोप लागेको छ । निओसफ्टको अनुकुल स्पेसिफिकेशन राखिएको भन्दै अन्यले त्यसलाई सच्याउन आग्रह गर्दा आपूर्ती केन्द्रले वास्ता नगरेको आरोप लागेको छ । केन्द्रले भने सप्लायर्सले आफू अनुकुल स्पेसिफिकेशन राख्न दबाब दिने भएपनि त्यसो नगरेको दावी गरेको छ ।

मिलेमतोमा राज्यकोषको करोडौं रकम हिनामिना गर्न खोजेको आरोप केन्द्रमाथि लागेको छ । ‘कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गर्न लागेको सिटि स्क्यान मेसिन निजी हस्पिटलले किन्दा चानचुन ५ करोडभन्दा केहि बढि पर्ला’ एक सप्लायर्सले भने, ‘६ करोडमा टेण्डर स्वीकृत गरिदिए सप्लायर्सलाई पनि राम्रै नाफा भएको हुन्छ ।’

आपूर्ती व्यवस्थापन केन्द्रले खरिद प्रक्रिया सुरु गर्नु अगाडि केन्द्रका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल र कोशी अस्पतालले पठाएका विज्ञ रेडियोलोजिष्ट डा.राजा सुवालले सिटि स्क्यानको स्पेसिफिकेशन तयार गरेका थिए । केन्द्रका अनुसार त्यसमा ट्रमा सेन्टरले पठाएका केहि बुँदा पनि थपिएको थियो ।

तयार भएको स्पेसिफिकेशन मन्त्रालयमा सुचिकृत भएका सप्लायर्सलाई पठाएर कोटेशन माग गरेको केन्द्रले कोटेशन अनुसार २१ प्रतिशत घटाएर लागत अनुमान तयार गरेको जनाएको छ । केन्द्रका अनुसार कोटेशन पेश गर्ने ८ सप्लायर्समध्ये ५ वटा प्रभाबग्राही देखिएका थिए । उनीहरुले न्युनतम् ७ करोड ३० लाखदेखि ११ करोडसम्मको कोटेशन पेश गरेको बताइएको छ ।

केन्द्रका निर्देशक डा.वीरेन्द्र कुमार मण्डलले टेण्डर प्रक्रिया बिधिसम्मत रुपमा अगाडि बढेको भएपनि अहिले अनावश्यक रुपमा विवाद खडा गरिएको दावी गरे । केन्द्रसँग अन्तराष्ट्रिय टेण्डरको अनुभब नभएको अवस्थामा मन्त्रालय, विभाग र विज्ञहरुसँगको परामर्शमा टेण्डर आह्वान गरिएको भन्दै उनले कुनै मिलोमतो नभएको बताएका छन् ।

‘सप्लायर्सहरुले दिएको कोटेशनलाई आधार बनाएर त्यसको औषत मूल्यमा पनि २१ प्रतिशत कम गरी लागत अनुमान तयार गरिएको हो’ उनले भने, ‘त्यसैले मिलेमतो हुने कुनै संभावना छैन ।’ सुरुवातमा ५ वटा सप्लायर्सले कोटेशन पेश गरेको भएपनि टेण्टर प्रक्रियामा एउटा मात्र समावेश भएको आधारमा मिलेमतोको आरोप लगाउन नमिल्ने उनको भनाइ छ । अरु सप्लायर्सहरु किन प्रतिस्पर्धामा आएनन् भन्ने आफूहरुले भन्न नसक्ने उनले बताए । मन्त्रालय स्रोतका अनुसार ‘एक्सीस’ नामको कम्पनीले मात्र टेण्डर भरेकोले उसकै स्वीकृत हुने संभावना छ ।

अहिले सिटीस्क्यान मेसिन खरिदको निर्णय भइनसकेको र टेण्डर हाल्ने सप्लायर्सको प्रस्ताव खोलिनसकेकोले कति मूल्य प्रस्ताव गरेको छ भन्ने यकिन नभएको मण्डलको भनाइ छ । विज्ञसहितको ७ जनाको मूल्यांकन समितिले टेण्डर हालेको सप्लायर्सको प्राबिधिक र आर्थिक प्रस्ताव अध्ययन गरेपछि मात्र उसले टेण्डर पाउने कि नपाउने यकिन हुने उनले बताए ।

मूल्यांकन समिति निर्देशक डा. मण्डलको संयोजकत्वमा रहेको छ । समितिमा आपूर्ती केन्द्रका लेखा प्रमुख तारा घिमिरे, खरिद इकाइ शाखाका प्रमुख शम्भू साह, प्रशासन प्रमुख काशी पराजुली, बायोमेडिकल इन्जिनियर कुशल दाहाल छन् । यस्तै, कोशी अस्पतालबाट बायोमेडिकल इन्जिनियर गोविन्द मिश्र र रेडियोलोजिष्ट डा.राजा सुवाल विज्ञको रुपमा समितिमा छन् ।

इञ्जिनियर र डाक्टरसहित तीन प्राबिधिकले प्राविधिक प्रस्ताव हरेपछि मूल्यांकन समितिले आर्थिक प्रस्ताव हेरेर निर्णय गर्नेछ । हिमालय मेडिकल टेक्नोलोजीले पेश गरेको प्रस्ताव अहिले नै स्वीकृत भइनसकेको केन्द्रका प्रशासन प्रमुख काशी पराजुलीले बताए ।

विधिसम्मत् रुपमा भएको काममा आपूर्ती केन्द्र र प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिवलाई विवादमा ल्याउने नियोजित प्रयास मात्र भएको उनको भनाइ छ । ‘कतिपय मिडियमा अहिले नै खरिद भइसक्यो भनेजसरी समचार आयो,’ उनले भने, ‘मानवीय त्रुटिलाई लिएर धेरै अतिरञ्जित बनाइयो । सिटी स्क्यान खरिदमा कुनै चलखेल छैन ।’

मुख्यमन्त्री कार्कीले देखाए चासो

कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद गर्ने टेण्डर प्रक्रिया विवाद देखिएपछि मुख्यमन्त्री केदार कार्कीले पनि चासो देखाएका छन् । प्रदेश सरकारले खरिद गर्ने सिटी स्क्यान मेसिनको विषयलाई लिएर समाचार आएपछि मुख्यमन्त्री कार्कीले चासो देखाएका हुन् ।

बिहीबार मुख्यमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयका सचिव डा.सुधा देवकोटा र आपूर्ती व्यवस्थापन केन्द्रका निर्देशक डा.मण्डललाई बोलाएर खरिद प्रक्रियाबारे सोधेका थिए । खरिद प्रक्रियाबारे थप अध्ययन पनि भइरहेको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ ।

प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा. देवकोटाले उपकरणहरु खरिदको प्रक्रिया कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले गर्ने भएकोले यसमा आफ्नो कुनै संलग्नता नभएको बताएकी छन् । ‘सबै खरिदको प्रक्रिया आपूर्ती केन्द्रले गर्ने हो,’ उनले भनिन्, ‘प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेर सिटीको खरिद प्रक्रिया अगाडि बढाइएको भन्ने जानकारी मलाई छैन ।’ डा. देवकोटाले यसबारे थप बुझ्ने भन्दै प्रक्रियासम्मत् रुपमा सुरु भएको खरिद प्रक्रिया नरोकिने बताएकी छन् ।

शुक्रबार, २० पुष, २०८०, दिउँसोको १२:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर