विराटनगर । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री इन्द्रबहादुर आङ्बोले राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई पनि केही सिट दिनुपर्ने बताएका छन् ।
माओवादी कोशी प्रदेशसभाका संसदीय दलका नेतासमेत रहेका आङ्बोले निषेधको भन्दा पनि सहकार्यको राजनीति गर्न आवश्यक रहेको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभामा नेकपा एमालेलाई पनि समेट्नुपर्ने प्रस्ताव गठबन्धनमा गरेपछि माधव नेपाल लगायतका नेताहरुले त्यसमा विमति राखेका थिए ।
नेता आङ्बोले सामाजिक सञ्जालमार्फत राष्ट्रिय सभाले सरकार बनाउने वा भत्काउने नभएकाले एमालेलाई पनि समेट्नुपर्ने बताए । उनले भनेका छन्, ‘राष्ट्रिय सभाको आकारले सरकार बन्ने वा भत्कने होइन । सरकारको नीति कार्यक्रम, बजेट र बिधेयकहरु पास गराउन राष्ट्रिय सभामा २ तिहाइ भन्दा बढि संख्या सरकार समर्थित दलहरुसँगै रहन्छ । आसन्न राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई शून्य बनाएर निषेध गर्ने भन्दा गठबन्धनसहित प्रमुख प्रतिपक्षी एमालेलाई पनि भागबण्डा गरी केही सिट दिएर राष्ट्रिय महत्वको विषयमा सहकार्य गर्दा नै उपयुुक्त हुन्छ ।’