राष्ट्रिय सभा निर्वाचनका लागि एमालेले गर्यो सात जनाको नाम सिफारिस

विराटनगर । कोशी प्रदेशबाट निर्वाचित हुने दुई जना राष्ट्रियसभा सदस्यका लागि नेकपा एमालेले केन्द्रलाई सात जना उम्मेद्वारको सिफारिस गरेको छ ।कोशी प्रदेशका पदाधिकारीको बिहीबार काठमाडौंमा बसेको बैठकले चार जना पुरुष र तीन जना महिलाको नाम सिफारिस गरेको हो । सिफारिस हुनेहरुमा उमानाथ ओली (झापा), हरिशचरण बानियाँ (झापा), परशुराम अधिकारी (भोजपुर) र कर्ण घले (खोटाङ)को नाम सिफारिस गरेको हो । यस्तै तीन जना महिलामा रजनी मेचे (इलाम), मेचीमाया धिमाल र रुक्मिणी कोइराला (सुनसरी) रहेका छन् ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशका दुई सिटमा प्रतिस्पर्धा हुँदैछ । खुलातर्फका नेपाली काँग्रेसका रमेशजंग रायमाझी र महिलातर्फ नेकपा माओवादी केन्द्रकी बिना पोखरेलको पदावधि सकिने भएकोले निर्वाचन हुन लागेको हो ।

काँग्रेसले भने यसअघि नै कृष्णप्रसाद सिटौला सहित ३८ जना पुरुष तर्फ खस आर्य र खस आर्य महिलातर्फ २५ जनाको नाम सिफारिस गरेको छ । सिटौलाको पक्षमा भने काँग्रेसले सिटौलाको पक्षमा भने व्याख्यातमक टिप्पणी गरेको छ । काँग्रेसबाट सिफारिस हुनेमा सुजाता कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, उमेशजंग रायमाझी, तारामान गुरुङ, टंक राई, गिरिराज आचार्य, डिला संग्रौला लगायतका नेता छन् । यस्तै माओवादीले ७ जनाको नाम सिफारिस गरेको छ । जसमा अजम्बर काङमाङ राई, टंक गिरी, भोगेन्द्र यादव, लक्ष्मी न्यौपाने, चम्पा कार्कीलगायत छन् ।

प्रदेशमा गठबन्धन कायम भएमा एमालेको उम्मेदवार पराजित हुने निश्चित छ । राष्ट्रिय सभाको लागि कोशीमा स्थानीय तहका २७४ र प्रदेशका ९३ सांसद गरी कूल ३६७ मतदाता रहेका छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उप–प्रमुखको मतभार १९ रहेको छ ।

प्रदेशमा प्रदेश सभाका ९३ सांसदमा एमालेका ४०, काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ जना छन् । सांसदहरुतर्फ एमालेको २१२०, काँग्रेसको १५३७, माओवादीको ६८९, राप्रपाको ३१८, एकीकृत समाजवादीको २१२ र जसपाको ५३ मतभार रहेको छ ।

१३७ पालिकाका २७४ मध्ये एमालेका ११०, काँग्रेसका ११५, माओवादीका ३१, राप्रपाका ४, एकीकृत समाजवादीका ७, जसपाका ४ र स्वतन्त्र ३ जना छन् । पालिकामा एमालेको २०९०, काँग्रेसको २१८५, माओवादीको ५८९, राप्रपाको ७६, एकीकृत समाजवादीको १३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।

प्रदेशमा एमालेको कूल मतभार ४ हजार २१०, नेपाली कांग्रेसको ३ हजार ७२२ र माओवादी केन्द्रको १ हजार २७८ रहेको छ । यस्तै एकीकृत समाजवादीको ३४५, राप्रपाको ३९४, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको छ । गठबन्धन कायम रहँदा गठबन्धनको पक्षमा ५४८३ मतभार हुनेछ । एमालेको भन्दा १२६४ ले गठबन्धनको बढी रहेको छ ।

शुक्रबार, २० पुष, २०८०, बिहानको ०७:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर