विराटनगर । मोरङको सुन्दरहरैंचाबाट बालिका बलात्कार आरोपमा एकजना एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
सुन्दरहरैंचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगर आफ्नै घरमा डेरा बस्ने बालिकामाथि बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् ।
गत पुस १७ गते उनको घरमा डेरा गरेर अभिभावकसँग बस्दै आएकी १० वर्षीया बालिका मगरबाट बलात्कृत भएका हुन् । उनलाई परिवारले रंगेहात फेला पारेपछि प्रहरीले पक्राउ गरेको थियो ।
बालिकाका बुबा विदेशमा रहेका छन् भने आमाले अर्को बिहे गरेर गएपछि उनी हजुरबुबा र हजुरआमासँग बस्दै आएकी थिइन् । मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार पुस १७ गते घटना भएको अभिभावकले देखेपछि उनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान गरिरहेको छ।
घटनाको प्रारम्भिक अनुसन्धानमा बालिकालाई डर देखाएर मगरले यसअगाडि पनि करणी गरेको खुलेको छ। पीडित बालिकाको स्वास्थ्यमा समस्या देखा परेपछि उनको उपचारसमेत भइरहेको प्रहरीले जनाएको छ ।

