विराटनगर । कोशी प्रदेशसभाको सभामुख चयन प्रक्रिया पुस २४ गतेबाट सुरु हुने भएको छ । प्रदेशसभाको अर्को बैठक २४ गते राखिएको र सोहि दिनदेखि सभामुख चयनको प्रक्रिया सुरु हुने नेताहरुले बताएका छन् । संभव भएसम्म एक दिनमा सभामुखको निर्वाचन प्रक्रिया टुंगो लगाउने तयारी दलहरुको छ ।
सत्तारुढ गठबन्धनबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सभामुख दिने सहमति छ । सहमति अनुसार राप्रपाले सभामुख लिने निर्णय गरिसकेको भएपनि औपचारिक रुपमा त्यसलाई सार्वजनिक गरेको छैन ।
‘२÷३ दिनपछि सबै कुरा आइहाल्छ किन हतारिनु,’ राप्रपाबाट सभामुखको उम्मेदवार मानिएका अम्बरबहादुर विष्ट बताउँछन्, ‘निर्णय भएको भन्ने विषयमा मलाई औपचारिक थाहा छैन ।’ दलहरुबीच पुसको दोस्रो हप्ताभित्रमा सभामुख चयन प्रक्रिया सुरु गर्ने मौखिक सहमति भएपनि मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा २४ गतेबाट सभामुखको चयन प्रक्रिया सुरु गर्ने सहमति भएको हो ।
मंगलबारको बैठकमा सभामुख चयन प्रक्रिया एक हप्तापछि सुरु गर्न एमालेले प्रस्ताव गरेको थियो । एमालेले सभामुख चयनको प्रक्रियालाई लम्ब्याउन चाहिरहेको छ । यसअघि पुस ६ गतेबाट सभामुख चयन प्रक्रिया सुरु हुने बताइएको थियो । सत्ता पक्ष र राप्रपाले सभामुख चयनको प्रक्रिया सुरु गर्नेगरी छलफल अगाडि बढाउन जोड गरेको भएपनि एमालेकै कारण ढिलाई हुँदै आएको छ ।
राप्रपाले सभामुखमा सांसद विष्टलाई पठाउने निर्णय यसअघि नै गरिसकेको छ । यस्तै सरकारमा जाने अवस्थामा दलका नेता भक्तिप्रसाद सिटौलालाई नै पुनः दोहोर्याउने गरि छलफल पनि भएको स्रोतको दाबी छ । ‘सभामुखमा जाने निर्णय धेरै पहिले भएको हो,’ राप्रपा स्रोतले भन्यो, ‘अहिले सार्वजनिक नगरिएको मात्रै हो ।’
राप्रपामा सभामुख लिने कि नलिने भन्ने विषयमा सामान्य विवाद छ । तर, सरकारमा जाने कुरामा भने तीब्र विवाद हुने राप्रपाकै एक सांसद बताउँछन् । ‘सभामुख भनेको प्रतिपक्षले लिने पद हो । त्यहाँ जाँदा फरक पर्दैन । सभामुख पनि नलिने हो भने सबै प्रदेशबाट सांसदले पनि राजीनामा दिँदा हुन्छ,’ उनले भने, ‘सांसद रहिरहने हो भने सभामुख लिँदा हुन्छ । तर, सरकारमा जाने भन्ने कुरा चाहिं सभामुख लिए जस्तो मात्रै होइन । यो विवादित कुरा हो ।’
प्रदेशसभा गत साउन १६ गतेदेखि सभामुखबिहीन छ । २०७९ पुस २८ गते निर्विरोध निर्वाचित सभामुख बाबुराम गौतमले नेपाली काँग्रेस संसदीय दलका नेता उद्धब थापालाई मुख्यमन्त्री बनाउन पदबाट राजीनामा दिएका थिए । उनलाई गठबन्धनबाट मुख्यमन्त्री बनेका उद्धब थापालाई बहुमत पुर्याउन राजीनामा दिन लगाइएको थियो । त्यसयता कोशी प्रदेशसभामा सभामुख पद रिक्त छ ।
सभामुख चयन प्रक्रिया सकेर मात्रै संसदीय समितिको सभापति चयन हुने र प्रदेश सरकारमा मन्त्रीहरु थप गर्ने मुख्यमन्त्री केदार कार्कीको चाहना छ । तर, मुख्यमन्त्री कार्कीको एमालेसँग मनमुटाव बढ्दै गएको कारण सभामुख चयनको प्रक्रिया नै पछि धकेलिइरहेको छ भने अहिले पनि प्रदेशका ५ मन्त्रालय मन्त्रीबिहीन छन् ।
संविधानको धारा १८२ मा प्रदेश सभाको सभामुख र उपसभामुखको चयन प्रक्रियाबारे उल्लेख छ । सोही धाराको उपधारा (१) मा प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेश सभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने उल्लेख छ । यस्तै उपधारा (३) मा प्रदेश सभामुख वा प्रदेश उपसभामुखको पद रिक्त भएमा प्रदेश सभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचन गरी प्रदेश सभामुख वा प्रदेश उपसभामुखको पद पूर्ति गर्ने उल्लेख छ ।
सत्तारुढ गठबन्धन दलले सभामुख राप्रपालाई दिने निर्णय गरिसकेको अवस्थामा एमाले त्यसको विरुद्ध उभिएको छैन । तर, संसदको सबैभन्दा ठूलो दल भएकोले सभामुख पाउनुपर्ने उसको दावी भने छ ।
कोशी प्रदेशसभामा एमालेको (उपसभामुखसहित) ४०, काँग्रेसका २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन् ।

