विराटनगर । रामेछापका प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ सञ्चालक रहेको कान्छाराम कन्ट्रक्सनलाई कोशी प्रदेश सरकारले कारवाहीको तयारी थालेको छ ।

कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सम्झौता अनुसार काम नगर्ने निर्माण व्यासायीलाई एक महिनाको अल्टिमेटमसहित कार्वाहीको चेतावनी दिएको हो । तामाङ नेपाली काँग्रेसबाट निर्वाचित सांसद हुन् ।

कान्छाराम कन्ट्रक्सनले मोरङका दुई वटा योजना अलपत्र पारेको छ । मोरङको कटहरी गाउँपालिका ५ रिंगरोड पश्चिमबाट खोरिया–महेशपुर हुँदै कृषि बजारसम्म जाने बाटो निर्माण सम्पन्न गर्ने समयमा १८ प्रतिशत मात्रै काम भएको छ । कान्छारामले जिम्मा लिएको सडक कटहरीको महेशपुरबाट सुरु भएर कटहरीकै रामचोकमा सम्पन्न हुन्छ ।

कान्छारामले २०७७ असार १२ गते सम्झौता गरेको १७ किलोमिटर दुरीको सडकको काम २०७९ असारमै सकिनुपर्ने थियो । पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख इन्जिनियर शुशिल श्रेष्ठका अनुसार सम्झौताको अबधि सकिएर एक वर्षको म्याद थप गरेपनि ठेकेदार कम्पनीले काम गरेको छैन ।

सडक निर्माणको लागि कान्छारामलाई थप गरेको एक वर्षको म्याद पनि गत असारमै सकिएको छ । भ्याटसहित ४७ करोड १८ लाख ३ हजार २७२ रुपैयाँमा सडक निर्माणको जिम्मा लिएको कान्छारामले ७ करोड २८ लाख ३१ हजार १२५ रुपैयाँ भुक्तानी लिएपछि काम अलपत्र बनाएको हो ।

पटक–पटक ताकेता गरेपनि काम नभएपछि मन्त्रीस्तरीय अनुगमन गराएर ठेकेदारलाई अल्टिमेटम दिएको इञ्जिनियर श्रेष्ठले बताए । अब १५ दिनमा प्रगति भए म्याद थप्ने जनाउँदै उनले नत्र ठेक्का रद्द र कार्वाहीको प्रक्रिया अगाडि बढ्ने बताए । १५ दिनपछि पेलान्टी लगाएर उसैलाई काम लगाउने र काम नगरे कालोसुचिमा राखेर ठेक्का रद्द गर्ने कार्यालयले जनाएको छ ।

कान्छारामले नै ठेक्का लिएको बबियाविर्ता–रञ्जनी–कजिमानचोक हुँदै दाोभानाघाटबाट गान्धी आश्रमदेखि सुनवर्षि जोड्ने सडक पनि अलपत्र नै छ । १९.२६ किलोमिटरको सडकको भौतिक प्रगति ३४ प्रतिशत छ भने वित्तीय प्रगति २७ प्रतिशत मात्रै रहेको पूर्वधार विकास कार्यालयले जनाएको छ ।

भ्याटसहित ५६ करोड ११ लाख २ हजार ७६८ रुपैयाँमा २०७६ असोज १४ गते ठेक्का सम्झौता गरेको कान्छारामले निर्माण सम्पन्न गर्न समयमा नसकेपछि थपिएको एक वर्षको म्याद पनि फागुनमा सकिँदैछ । थपिएको म्याद थप सकिन दुई महिना बाँकी भएपनि सडकमा अहिलेसम्म ६.२ किलोमिटर बेसको काम, २.२ किलोमिटर ड्रेनको काम र ४९ वटा कल्भर्टको काम मात्र सम्पन्न भएको कार्यालयले जनाएको छ ।

इञ्जिनियिर श्रेष्ठका अनुसार अनुगमनपछि उसको भौतिक प्रगति हेरेर मात्रै थाहा सो सडकको म्याद थप हुने कि नहुने निर्णय हुनेछ । सो योजनाबाट १६ करोड ४१ लाख ७५ हजार २८२ रुपैयाँ ठेकेदार कम्पनीले लगेको छ ।

प्रदेशका योजना सम्झौता गरेर काम नगरी अलपत्र पार्ने ठेकेदारमाथि कार्वाहीको प्रक्रिया अगाडि बढाइएको भौतिक पुर्वधार विकासमन्त्री कमलप्रसाद जवेगुले बताए । ‘म मन्त्री भएर आएपछि प्रगति नभएका योजनाको अनुगमनमा आफैं जाने गरेको छु’ उनले भने, ‘अगुमन गरेको १५ दिनमा फेरि गएर हेर्ने र काम नभए कानुन अनुसार कारबाही गर्नेगरि अगाडि बढेका छौं ।’ सम्झौता अनुसार काम नगर्ने निर्माण व्यावसायीको विवरण तयार गर्न मन्त्री जवेगुले मन्त्रालयलाई निर्देशन दिएका छन् ।

तस्वीर : ठेकेदारले अलपत्र पारेको सडक अनुगमन गर्दै भौतिक पूर्वाधारमन्त्री कमल जवेगु