उदयपुर । अज्ञात रोगको कारण उदयपुरको गाईघाटमा एकैगोठका १८ माउबाख्रा मरेका छन् ।

त्रियुगा नगरपालिका १० बोक्सेस्थित आदर्श टोलका हिमचुली कृषि उद्यम केन्द्रका सञ्चालक कृषक प्रेमबहादुर खड्काले पालेका १८ माउबाख्रा एकैपटक मरेका हुन् ।

खड्काको गोठ नै रित्तिनेगरी १८ माउबाख्रा एकैपटक मरेको वडा नम्बर १० का वडा अध्यक्ष किरण पाण्डेले बताए । मंगलबार बिहान एकैपटक ९ वटा बाख्रा मरेको खबर पाएपछि वडा अध्यक्षले पशु प्राविधिकलाई खबर गरेका थिए । त्यसपछि अन्य बाख्राको उपचार थालिएपनि थप ९ बाख्रा मरेको पाण्डेको भनाइ छ ।

सोमबार रातिबाट आफूले पालेका बाख्रामा अचानक समस्या देखिएको खड्काको भनाइ छ । उपचार गर्दागर्दै मंगलबार साँझसम्म १८ वटा बाख्रा मरेपछि कृषक खड्काले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको छ । बाख्रा मर्नुको कारण प्राबिधिकले पनि पत्ता लगाउन सकेका छैनन् ।

सुविधा सम्पन्न पशु प्राविधिक र औषधि उपलब्ध हुने स्थानमै २४ घण्टाभित्रै १८ वटा माउबाख्रा मर्नु गम्भीर रहेको स्थानीयको भनाइ छ ।