विराटनगर । लामो समयदेखि अलपत्र अवस्थामा छाडिएको हुलाकी सडकको काम रोकिएपछि मोरङको कटहरी गाउँपालिका ४ नयाँ बजारका व्यापारीहरुले सडक अवरोध गरेका छन् ।

अलपत्र अवस्थामा छाडिएको सडक धुलाम्मे भएपछि स्थानीयवासीले बुधबार विराटनगर–रंगेली सडकमा चल्ने दुवैतर्फका सवारी साधन रोकेर अवरोध गरेका हुन् ।

निर्माणाधीन सडकको खाल्डाखुल्डी र धुलोले गर्दा हैरानी खेप्न बाध्य भएपछि सडक अवरोध गरिएको स्थानीय व्यापारी भुवन विश्वकर्माले बताए । सो सडक निर्माणमा ढिलाइ भएको भन्दै कटहरीका जनप्रतिनिधिले भोक हडतालसमेत गरेका थिए ।

चार वर्षअघि निर्माण सुरु गरिएको राजमार्गको काम सुस्त हुँदा स्थानीय सास्ती खेप्न बाध्य छन् । पूर्व–पश्चिम राजमार्गको वैकल्पिक सडकका रूपमा हेरिएको हुलाकी राजमार्ग निर्माणका लागि मोरङ खण्डमा ५ वटा निर्माण कम्पनीले काम गरिरहेका छन् । ३ वर्षभित्रमा ४ लेन सडक निर्माण गर्ने सम्झौतासहित २०७६ सालमा ठेक्का सम्झौता भएपनि म्याद थप गरेर २०८० कात्तिकसम्म पुर्‍याइएको थियो । तर, कामले गति लिन भने सकेको छैन ।

रंगेलीको बेतौनादेखि पश्चिम विराटनगरको काम अझै पनि सुस्त गतिमा काम भइरहेको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका राजमार्गको रतुवामाइदेखि रंगेलीको भूमि टोलसम्म १६ किलोमिटर निर्माणको ठेक्का पिएस गजुरमुखी मोतीदाम जेभीले लिएको छ ।

बेतौनाबाट कटहरीको नयाँ बजारसम्म १२ किलोमिटर निर्माणको ठेक्का पीएस गजुरमुखी मोतीदाम जेभीले लिएको छ । नयाँ बजारदेखि विराटनगर हाटखोलासम्म ६ किलोमिटरको ठेक्का श्रेष्ठ कन्ट्रक्सनले लिएको छ । हुलाकी राजमार्गले विराटनगर महानगरपालिकासहित मोरङका रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, रंगेली नगरपालिका, धनपालथान र कहटरी गाउँपालिका क्षेत्रलाई समेटेको छ ।

सडक निर्माणमा ढिलाई हुँदा सर्वसाधारण हिउँदमा धुलो र बर्खामा हिलोको सास्ती भोग्न बाध्य छन् । कटहरी गाँउपालिकाका अध्यक्ष देवराज चौधरीले ठेकेदारले इमान्दारीसाथ काम नगर्दा र सडकमा पानी नहालेको कारण जनता आक्रोशित भएको बताए ।