विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा एमालेको एकलौटी बहुमत छ । अध्यक्ष राजमति इङ्नाम, उपाध्यक्ष भोला अधिकारी तथा ७ मध्ये ५ वटा वडाध्यक्ष एमालेबाटै विजयी भएका छन् । कार्यपालिकामा पनि स्वतः एमालेको बहुमत छ । एमालेको कार्यपालिकामा सोलोडोलो बहुमत हुँदा पनि उक्त पालिका सोही अनुसार भने चलेको छैन ।
केही दिनअगाडि बसेको कार्यपालिका बैठकमा पालिकाका उपाध्यक्ष भोला अधिकारी र पालिकाका प्रवक्ता तथा २ नम्बर वडाका वडाध्यक्ष सुशिल बुढाथोकीबीच चर्को विवाद भयो । विवादकैबिच उपाध्यक्ष अधिकारीले एउटा टेबुल तोडफोडसमेत गरे । ‘त्यसबिचमा हातहालाहालको अवस्था बन्यो, मुख छोडाछोड भयो,’ बैठकमा सहभागी एक वडाध्यक्षले भने, ‘अध्यक्षले पनि आफ्नो ठाउँबाट विवाद मिलाउन भूमिका खेलेको देखिएन ।’
यो अहिलेदेखिको मात्रै विवाद होइन । पालिकाको केन्द्र ५ नम्बर वडामा सार्ने कि हाल रहेको ६ नम्बर वडामै राख्ने भन्ने विषयमा गत वैशाखमा तीब्र विवाद भएको थियो । विवाद बढेपछि बहुमत कार्यपालिका सदस्यहरुले मतदानमार्फत पालिकाको केन्द्र ५ नम्बर वडामा सार्ने निर्णय गरेपछि भने उपाध्यक्ष अधिकारीको आक्रोश बढीरहेको छ ।
प्रवक्ता तथा २ नम्बर वडाका अध्यक्ष सुशिल बुढाथोकीले उपाध्यक्ष अधिकारी हरेक बैठकमा ढिलो आउने र बैठक सुरु भएपछि ठूलोठूलो स्वरमा अमर्यादित रुपमा प्रस्तुत हुने गरेको दाबी गर्छन् । गाउँपालिकाको भवन सर्ने निर्णय भएदेखि उपाध्यक्षले यस्तो व्यवहार देखाइरहेको उनको दाबी छ । बुढाथोकी एमालेका पालिका अध्यक्ष पनि हुन् । अधिकारी एमालेकै कानेपोखरी गाउँपालिकाका पूर्व पार्टी अध्यक्ष हुन् ।
संवैधानिक व्यवस्था अनुसार उपाध्यक्षले न्यायिक समितिको नेतृत्व गर्नुपर्छ । तर, उपाध्यक्ष अधिकारीले न्यायिक समितिको काम गर्न छोडेर अध्यक्ष इङ्नामको कार्यक्षेत्रमा हात हाल्न खोजेपछि समस्या भएको वडाध्यक्ष बुढाथोकी बताउँछन् ।
‘न्यायिक समितिमा दर्ता भएका मुद्दा न्यायिक समितिले किनारा नलगाई वडा तिरै छलफल गराउनु भनि तोक लगाउनुले के न्यायिक समितिको कार्य सम्पादन गर्ने क्षमतामा प्रश्न उठ्दैन ? जनता मेलमिलापमा वडामा जाने कि न्यायिक समितिमा जाने भन्ने कुरा वहाँहरुको आफ्नो अधिकारको कुरा हो,’ वडाध्यक्ष बुढाथोकीले उपाध्यक्षलाई इंगित गर्दै फेसबुकमा लेखे, ‘तर न्यायिक समितिमा पुगेका मुद्दा त्यसकै निरुपणका लागि संविधान र ऐन अन्तर्गत बनेको न्यायिक समितिले नगरेर आफू आफ्नो कर्तव्यबाट भाग्न मिल्छ ? सबै काम वडाहरुले नै गर्दिनु पर्ने हो भने गाउँपालिकाको न्यायिक समितिले मुद्दा नहेर्ने भनि सार्वजनिक सूचना गर्दा राम्रो होला । हामी निर्वाचित जन प्रतिनिधिहरुका संविधान र ऐनले तोके बमोजिमका आफ्नै काम कर्तव्य अधिकारहरु छन् । सबैले त्यसैको अधिनमा रहि काम गर्ने होला भन्ने लाग्छ आफ्नो सुविधाको लागि जनतालाई दुःख दिने काम नगर्न अनुरोध छ ।’
बुढाथोकीले सामाजिक सञ्जालमा उपाध्यक्षलाई लक्षित गरी स्टाटस लेखेपछि कार्यपालिका बैठकमा अधिकारीले आपत्ति जनाए । ‘कार्यपालिकाको बैठकमा मैले मेरो समय लिएर बोलिरहेको थिएँ । उहाँले रोक्न खोज्नु भयो । बैठक चलाउने कसले हो भनेर मैले आपत्ति जनाएँ । त्यही क्रममा बहस लम्बिएर टेबुलमा हान्दा सिसा चर्कियो,’ उपाध्यक्ष अधिकारीले भने, ‘न्यायिक समितिको बारेमा उहाँले लेख्नुभयो । मैले कार्यपालिकाको मिटिङमा न्यायिक समितिको बारेमा प्रवक्ताले फेसबुकमा किन लेख्नु भएको हो ? किन डिस्टर्ब गरेको भनेर कुरा राखेको थिएँ ।’
उनले बैठकमा अध्यक्षता गर्नेले बैठक व्यवस्थित गर्न नसक्दा र स्वस्थ छलफलको वातावरण बनाउन नसक्दा अस्वस्थ वातावरण बनेको उनले बताए । ‘त्यस क्रममा टेबुल ठोक्दा सिसा फुट्यो । अनि यो विषय फोटो खिचेर किन फेसबुकमा राख्नु ?,’ अधिकारीले भने, ‘अध्यक्षले नै तपाई बढ्ता हुनुभयो भन्दिएदेखि हुन्थ्यो । तर, वडाध्यक्षले नै मलाई कन्ट्रोल गर्न थालेपछि विवाद हुने नै भयो नि ?’
उता बुढाथोकीले पनि कार्यपालिका बैठकमा उपाध्यक्षले कुण्ठा पोखेको कारण यस्तो भएको बताए । ‘न्यायिक समितिमा वर्षदिनसम्म मुद्दा पेन्डिङ हुने र विवादित हुन्छ भन्ने डरले आफू बस्नै डराउने गर्नुभएको छ । मैले पनि २–३ जना मानिसलाई ६ महिनादेखि ७ महिनासम्म बोकेर पु¥याएको छु,’ बुढाथोकीले भने, ‘अधिकार अध्यक्षको चाहिएको हो ? भन्ने प्रश्न गरेको थिएँ । त्यति भन्ने वित्तिकै उहाँले बैठक छोडेर जान्छु भन्नुभयो । मैले जानुहोस् भने । त्यसपछि टेबुल फुटाइयो ।’
न्यायिक समितिले १ वर्षसम्म मान्छेलाई झुलाएको पनि बुढाथोकीले बताए । दलेलीको स्कुलको भवन निर्माणमा पनि उपाध्यक्ष अधिकारीले अवरोध गर्न खोजेको वडाध्यक्ष बुढाथोकी बताउँछन् । उपाध्यक्ष अधिकारीले चाहिं दलेली स्कुलको भवनमा परेको बजेट ६ नम्बर वडाकै कुनै स्कुलमा लान खोजेपछि विवाद भएको बुढाथोकी दाबी गर्छन् । ‘उहाँ पालिकाको उपाध्यक्ष हुनुपर्नेमा ६ नम्बरको वडाध्यक्षजस्तो गरिरहनु भएको छ,’ बुढाथोकीले भने, ‘कानेपोखरी गाउँपालिका साविक बयरवन मात्रै होइन, होक्लाबारी र केरौन पनि समेटिएको छ भन्ने कुरा बुझ्नु प¥यो नि ।’
उपाध्यक्ष अधिकारीले भने आफूले भवन निर्माणमा कुनै अवरोध नगरेको बताउँछन् । प्रवक्ता तथा वडाध्यक्ष बुढाथोकीबीच विवाद बढ्दा पालिकाकी अध्यक्ष राजमति इङ्नाम भने मौन बसेकी थिइन् । उनले उपाध्यक्ष र प्रवक्ताबीच भएको विवादबारे जानकारी नभएको प्रतिक्रिया दिइन् । तपाईलेबैठकको व्यवस्थापन गर्न सक्नु भएन अरे नि त भन्ने प्रश्नमा उनले भनिन्, ‘मलाई यस्तो कुरा थाहा छैन ।’
कानेपोखरी गाउँपालिका स्रोतकाअनुसार न्यायिक समितिमा मुद्दाको चापहरू धेरै थन्किएका छन् । त्यहाँ निरन्तर सुनुवाई नै नहुने गरेको स्रोत दाबी गर्छ । ‘उपाध्यक्षज्यूले पनि राम्रो ध्यान नदिएजस्तो मलाई पनि लाग्छ,’ उक्त स्रोतले भन्यो । यस्तै पालिकामा भइरहने विवादले कार्यपालिका बैठकको निर्णय कार्यान्वयन गर्ने कुरामा पनि असर पारिरहेको एक कर्मचारी बताउँछन् । ‘बजेट ल्याउन पनि समस्या हुने गरेको छ । कतिपय बजेट त समयमै पास नहोला कि भन्ने खालको विवाद हुने गरेको छ । व्यक्तिगत इगोले बढी काम गरेको छ,’ उनले भने, ‘कतिपय विवादले गर्नैपर्ने कामहरु पनि ओझेलमा पर्ने गरेका छन् ।’
उनका अनुसार पालिकामा अध्यक्षमाथि उपाध्यक्ष हावी हुन खोजेजस्तो देखिने गरेको र उपाध्यक्षमाथि अन्य वडाध्यक्षहरु हाबी हुन खोजेजस्तो देखिन्छ । ‘कहिलेकाँही मिलेको जस्तो पनि देखिन्छ । यो उहाँहरुको विवाद के हो बुझ्नै नसक्ने खालको छ । तर, एउटै पार्टीको बहुमत प्राप्त हुँदा पनि पालिकालाई एकताबद्धताका साथ लिएर जाने कुरामा चाहिं समस्या देखियो,’ उनले भने, ‘बेलबारी नगरपालिका, सुन्दरहरैंचा नगरपालिका वा विराटनगर महानगरपालिकामा पनि दुई पार्टीका प्रमुख र उपप्रमुख निर्वाचित भएका छन् । त्यहाँ बरु मिलेर गएको देखिन्छ । एउटै पार्टीले जितेको यो पालिकामा भने अचाक्ली वादविवाद हुने गरेको देखिन्छ । ठूलाखालका विवाद भन्दा पनि झिनामसिना विवादमा धेरै अलमल हुने गरेको छ । यो विवाद व्यक्तिगत खालका छन् ।’


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।