विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–४ मिलन चोकमा रहेको पञ्चकन्या आधरभूत विद्यालयमा राहत शिक्षक नियुक्तिको लागि लिएको परीक्षामा आर्थिक चलखेल भएको भन्दै आलोचना र विरोध भएपछि गाउँपालिकाले शिक्षक नियुक्तिको प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ ।
कानेपोखरी गाउँपालिकाले १२ पुसमा पत्रचार गरेर अर्को निर्देशन जारी नभएसम्मको लागि परीक्षामा उत्तीर्ण भएका उम्मेदवारलाई नियुक्त नगर्न विद्यालयलाई पत्रचार गरेको हो ।गाउँपालिकाले पत्रचार गरेपछि लिखित परीक्षाबाट उत्तीर्ण भएका उम्मेदवार शोभा कोइरालालाई विद्यालय व्यवस्थापन समितिले अहिलेसम्म नियुक्ति दिएको छैन । ‘पुस ९ गते संचालित परीक्षाबाट छनौट भई नियुक्तिका लागि विद्यालय व्यवस्थापन समितिलाई सिफारिस गरिएको उम्मेदवारलाई यस कार्यालयबाट अर्को सूचना नभएसम्म नियुक्ति नगर्नु, नगराउनु हुन अनुरोध छ,’ गाउँपालिकाले विद्यालयलाई गरेको पत्रमा उल्लेख छ ।
कानेपोखरी गाउँपालिकाले सार्वजनिक सूचना प्रकाशन नगरी परीक्षा सञ्चालन गर्ने प्रपञ्च मिलाएर करार सूचिका छ जना शिक्षकहरुलाई प्रतिस्पर्धा गर्नबाट बञ्चित गराएर ९ पुसमा परीक्षा लिएको थियो । उक्त परीक्षाबाट शोभा कोइराला उत्तिर्ण भएकी थिइन् ।सेटिङमा शिक्षक नियुक्त गर्न कानेपोखरी गाउँपालिकाका शिक्षा शाखाका अधिकारी र विद्यालयका प्रधानाध्यापकसमेतले मिलेमतो गरेको स्थानीयले आरोप लगाएका थिए । करार सूचिका शिक्षक र स्थानीयले आर्थिक चलेखेल भएर गोप्य रुपमा गरिएको परीक्षा रद्ध गरेर शिक्षा नियमावलीमा व्यवस्था भए अनुसारका करार सूचिका शिक्षक राख्नुपर्ने माग गर्दै आएका छन् ।
विमला पौडेलले राजीनामा दिएपछि रिक्त रहेको एक जना राहत शिक्षक नियुक्तिको परीक्षामा करार सूचिका ६ जना शिक्षकलाई बन्चित गराएर गाउँपालिकाले परीक्षा लिएको थियो । रिक्त रहेको एक जना प्रा.वि. तृतीय राहत अनुदाको शिक्षक नियुक्तिको विज्ञापन विद्यालयले कार्तिक १० गते सूचना गोप्य रुपमा प्रकाशित गरेको छ । तर, उक्त विज्ञापनको सूचना विद्यालय र गाउँपालिकाको वेवसाइट, पत्रपत्रिका र कार्यालय कतै टाँस गरिएको छैन । करार सूचिका शिक्षकहरुले निवेदन दिने समयसीमा सकिएपछि मात्र कार्तिक १६ गते विद्यालयका प्रधानध्यापक भरत राजवंशीले आफ्नो फेसबुक र कानेपोखरी स्तरीय प्रधानाध्यापकहरुको फेसबुक ग्रुपमा राखेका थिए ।
कानेपोखरीमा करार सूचिका शिक्षकहरू ६ जना रहेका छन् । करार सूचि नम्बर ११६ मा रहेका कानेपोखरी ३ का नवराज सुवेदी, २९ नम्बरका करार सूचिका युवराज सापकोटा, कानेपोखरी ५ का २८ नम्बर सूचिका तेइन्द्रकुमार बास्तोला, कानेपोखरी ७ का ९१ नम्बर करार सूचिका बिनाकुमारी बुढाथोकी र सोही वडाका ७२ करार सूचिमा रहेका सीतादेवी खड्का रहेका छन् । उनीहरुलाई बाइपास गरेर विद्यालयले परीक्षा लिएको थियो ।
शिक्षा नियमावलीको उपनियम १ मा आयोगबाट प्रकाशित सूचिमा करारका लागि हुने उम्मेद्वार नरहेमा वा सूचिमा समावेश भएका उम्मेद्वारको शिक्षक पदमा नियुक्ति हुन निवेदन नपरेमा व्यवस्थापन समितिले शिक्षक छनौट समितिको सिफारिसमा बढीमा एक शैक्षिक सत्रको लागि कुनै व्यक्तिलाई करारमा शिक्षक नियुक्ति गर्न सक्ने उल्लेख छ ।
शिक्षा नियामवलीमा व्यवस्था नभएको नियमलाई विद्यालयले २ महिना अघि विज्ञापन गर्दा विज्ञापन प्रकाशन गरेको मितिले करार सूचिका उम्मेदवारलाई ७ दिनभित्र कार्यालयमा सम्र्पक गर्न र करार सूचिका नआए मात्र अन्यले आवेदन दिन पाउने विज्ञापनमा उल्लेख गरेको छ । गाउँपालिकाको शिक्षा शाखा प्रमुख बेगबहादुर काफ्ले र विद्यालयका प्रधानध्यापक भरत राजवंशीले आर्थिक चलखेल गरेर करार सूचिका शिक्षकहरुलाई राहत शिक्षक नियुक्ति प्रक्रियामा सामेल नगराउने उद्देश्यले विज्ञापन गुपचुप राखेको पाइएको छ । करार सूचिका शिक्षकले निवेदन दिने समय सकिएपछि विज्ञापन सार्वजानिक गरेको दुई महिनापछि मात्र पुस ९ गते लिएको परीक्षा लिएको थियो ।
कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारीले तत्काल शिक्षक नियुक्त नगर्न विद्यालयलाई निर्देशन दिएको बताए । राहत शिक्षकको परीक्षाको विषयमा अध्ययन भइरहेको उनले बताए । ‘अहिले शिक्षक नियुक्ति भइसकेको छैन । करार सूचिका शिक्षकहरुको पनि कुरा आइरहेको छ,’ उनले भने, ‘यसमा हामी पुनःविचार गर्नेछौं ।’ गाउँपालिकाले परीक्षा रद्ध गरेर ६ जना करार सूचिका मध्ये निवेदन हालेका शिक्षकलाई नियुक्ति गर्ने तयारी गरेको बुझिएको छ ।

