विराटनगर । मोरङको सुन्दरहरैँचामा एक जंगली हात्ती मारिएको भोलिपल्ट हात्तीको समूहले गाउँमा क्षति पुर्याएको छ ।
आइतबार राति सुन्दरहरैंचामा गोली हानेर एउटा जंगली हात्ती मारिएकोमा सोमबार राति हात्तीको समूहले सुन्दरहरैचास्थित पूर्वाञ्चल विश्वविद्यालय, किसानको केरा खेती र घरमा क्षति पुर्याएको हो ।
विश्वविद्यालयको कलेजको क्यान्टिनसहित लेखा प्रमुखको क्वार्टर, ढोका र किचनमा हात्तीको समूहले क्षति पुर्याएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले बताए । हात्तीले झ्याल र ढोकाको सिसा पनि फुटाएको छ ।
हात्तीको हुलले सुन्दरहरैँचा ७ मा लेखनाथ प्रसाईंको केराखेतीमा पनि क्षति पुर्याएको छ । करिब २ विगाहा केरा खेती हात्तीले नष्ट गरेको प्रसाईंले बताए ।
हात्तीले स्थानीय कृष्णबहादुर तामाङको टिनको छानो र बाँसको टाटीबेरा भएको घर पनि भत्काइदिएको छ । प्रहरीका अनुसार समूहमा रहेको हात्ती मारिएका कारण अन्य हात्तीहरु आक्रोशित भएको हुनसक्ने अनुमान छ । प्रहरीले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
घरमा क्षति गरेर हात्ती जंगलतर्फ लागेको डीएसपी दाहालले बताए । हात्तीले वितण्डा मच्चाउन थालेपछि सर्वसाधारणलाई सचेत गराउन तथा हात्तीलाई बस्तीमा पस्न नदिने उपाय खोज्न प्रहरी चौकी गछियाबाट प्रहरी नायव निरीक्षक सूर्यबहादुर बस्नेतको नेतृत्वमा टोली परिचालन गरिएको छ ।
सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख लालबहादुर माझीका अनुसार आफ्नो समूहमा रहेको हात्ती मारिएपछि अन्य हात्तीहरु आक्रोसित भएको अनुमान वन कार्यालयले गरेको छ । हात्तीबाट जोगिन सर्वसाधारणलाई रातको समयमा सजक र सतर्क रहेर बस्न तथा एक्लै हिँडडुल नगर्न आग्रह गरिएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।