विराटनगर । भारतीय पर्यटकले नेपालमा अनेकन् सास्ती झेल्नुपरेको बताउँदै सरोकारवालाहरूले उनीहरूलाई कष्ट नदिएमा पर्यटन क्षेत्र व्यापक हुने बताएका छन् ।
सोमबार कोसी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आयोजित प्रदेश सरकार, पर्यटन व्यावसायी र सरोकारवालाहरूबीच भएको नीति तथा अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।
भारतबाट नेपाल आउने पर्यटकले सीमा–नाकादेखि नै समस्या झेल्नुपर्ने भएका विस्तारै उनीहरूको संख्या घटेको नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका पर्यटन संयोजक भविष श्रेष्ठले बताए ।
अरू प्रदेशमा जस्तो अन्य देशबाट आउने प्रदेशबाट आउने पर्यटकहरू यस प्रदेशमा नआउने उनको भनाइ छ । यस प्रदेशमा भारतीय पर्यटकमात्र आउने भए पनि अनेकन सास्तीले गर्दा उनीहरूको संख्या ओरालो लाग्न थालेको श्रेष्ठले स्मरण गराए ।
‘सीमामा सुरक्षा निकायले दिने सास्ती, यातायात अनुमतिको झन्झट, भारतीय नोट प्रतिबन्ध र २५ हजारभन्दा बढी रकम बोक्न नपाउने नियमले गर्दा भारतीय पर्यटकहरू घट्दै छन्,’ उनले भने, ‘बेलैमा चेत नखुलेमा हाम्रो पर्यटन क्षेत्र डामाडोल हुने छ ।’
यसैगरी कोरोना भाइरस महामारीपछि काँकरभिट्टा नाकाबाट बंगलादेशी पर्यटक आउनेक्रम पूर्ण रूपमा रोकिएको उनले बताए । पर्यटन विकास बोर्डबाट हुने बजेट वितरणमा कोसी प्रदेशलाई अन्याय गरिएको उनको गुनासो छ ।
पर्यटन व्यावसायी पूर्ण भट्टराईले भारतीय पर्यटक नै यस प्रदेशको समृद्धिको आधार रहेकोले छिमेकी मुलुक भारतबाट आउने पर्यटकलाई सास्ती दिन नहुने बताए । भारतीय पर्यटकलाई सहज आवागमन व्यवस्था गर्नुपर्ने र राति होटल सञ्चालनका लागि निश्चित समय तोक्नुपर्ने उनको भनाइ थियो ।
होटल संघ, कोसी प्रदेश अध्यक्ष राजन श्रेष्ठले हवाइ उडानले गर्दा पर्यटक प्रभावित बनेको बताउँदै विराटनगरबाट पहाडी जिल्लाहरूमा उडान गर्नुपर्ने सुझाए ।अध्यागमन कार्यालयका प्रमुख लक्ष्मी पौडेल, होटल व्यावसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरी, पर्यटन व्यावसायी बासुदेव बराल, होमस्टे महासंघका केन्द्रीय उपाध्यक्ष एकराज घिमिरेलगायतले पर्यटन प्रवर्द्धनमा ‘मार्केटिङ’ र ‘ब्रान्डिङ’को आवश्यकता रहेको बताए ।
प्रदेश सरकारले धेरैभन्दा धेरै पर्यटक भित्र्याउन नीतिगत रूपमा व्यवस्था गर्नुपर्ने र पर्यटकीय क्षेत्रसम्म पुग्न बाटो, बिजुली, पुल जस्ता पूर्वाधारको विकासमा जोड दिनुपर्नेमा उनीहरूको एकमत थियो ।
साथै, उनीहरूले पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती ुसुशील’ र मुख्यमन्त्री केदार कार्कीबाट प्रदेशको पर्यटकीय अवस्था कायापलट हुन सक्नेमा आफूहरू विश्वस्त रहेको सुनाए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केदार कार्कीले पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । सरकारले आवश्यक बजेट विनियोजन गरी पर्यटकीय क्षेत्रको विकास थालनी गरेको उनले जानकारी दिए ।
पर्यटकहरूको आवागमन वृद्धि गर्न सरकारले व्यवसायीबीच साझा अवधारणा कायम गर्ने बताउँदै मुख्यमन्त्री कार्कीले पर्यटन प्रवर्द्धनका लागि व्यवसायीहरूको सुझावअनुसार ऐनमा संशोधन गर्ने पनि बताए ।
पर्यटन व्यवसायीसमेत सरकारको दूत रहेकाले संयुक्त रूपमा भारतको बिहार, बंगालका यस क्षेत्रको पर्यटकीय स्थानका बारेमा प्रचारप्रसार गर्नुपर्ने सुझाव दिए ।
मुख्यमन्त्री कार्कीले पर्यटन प्रहरी व्यवस्था गर्न बजेट व्यवस्थापन गरिएको बताउँदै प्रवर्द्धनका लागि तालिम तथा अभिमुखीकरण आयोजना गर्ने पनि उल्लेख गरे ।
पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि व्यवसायीको सुझावअनुसार विस्तृत गुरुयोजना बनाउने जानकारी दिए । सो गुरुयोजनाअनुसार अगाडि बढ्न सबैसँगको सहकार्य आवश्यक पर्ने उनको भनाइ छ ।
मन्त्रालयका सचिव विकास घिमिरेले यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकासका लागि सरोकारवालासँग निरन्तर छलफल चलाउने बताए ।

