विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाको जंगलमा एउटा हात्ती मारिएको छ । पोष्टमार्टम गर्दा गोली लागेर हात्ती मरेको पुष्टि भएको छ । सोमबार बिहान सुन्दरहरैंचा नगरपालिकास्थित जनजागरण सामुदायिक वनमा हात्ती मृत भेटिएको थियो ।
स्थानीयले राति गोली चलेको आवाज सुनेको बताएपछि कसैले गोली प्रकार गरी हात्ती मारेको हुनसक्ने आशंका गरी डिभिजन वन कार्यालयले कोशीटप्पु वन्यजन्तु आरक्षबाट चिकित्सकसहितको टोली झिकाएको थियो । टोलीले पोष्टमार्टम गरी हात्तीमा लागेको गोली निकालेको थियो ।
हात्तीको कान पछाडिको भागमा लागेको गोली फोक्सोमा पुगेको थियो । फोक्सो नष्ट भएका कारण हात्ती मरेको त्यसक्रममा चिकित्सकहरुले बताएका थिए । तर कुन बन्दुकबाट गोली प्रहार भएको हो भन्ने विषय अनुसन्धान पछि मात्र स्पष्ट हुने डिभिजन वन कार्यालय मोरङका डिभिजन वन अधिकृत बिष्णु घिमिरेले जानकारी दिए । ‘कसैले गोली प्रहार गरेर हात्ती मारेको करिव पुष्टि भयो अब हामी यस विषयमा अनुसन्धान अगाडि बढाउँछौं, पोष्टमार्टमको रिपोर्ट पनि आउँछ अनि कुन हतियार प्रयोग भएको थियो भन्ने विवरण प्राप्त भएपछि घटनाको बारेमा विस्तृत अध्ययन गर्न वन अधिकृतको नेतृत्वमा अनुसन्धान अगाडि बढाउँछौं ।’
हात्ती मारिएको ठाउँ नजिकै लेखनाथ प्रसाइँको करिव डेढ बिघामा लगाएको केरा खेती हात्तीले नष्ट गरेको, तोरीबारीमा क्षति गरेको पाइएको थियो । तर हात्ती कसले मार्यो भन्ने कुरा अहिले नै स्पष्ट नभइसकेको अधिकृत घिमिरेले बताए । ‘हतियारधारी सिकारीले हात्ती मारेको हुनसक्ने देखिन्छ तर अहिले नै सकले मार्यो भनेर भन्न सकिने अवस्था छैन, अनुसन्धानपछि त्यो स्पष्ट होला,’ घिमिरेले भने ।
उक्त सामुदायिक वनसँग जोडिएको राष्ट्रिय वन क्षेत्रमा केही दिनदेखि झण्डै ४० ओटाको संख्यामा हात्तीको हुल हिडडुल गर्ने गरेका थिए । त्यस क्षेत्रमा अधिकांशले केरा खेती गरेका कारण नियमितजसो हात्ती बस्ती क्षेत्रमा आउने र फर्केर जंगलमा जाने गर्दा स्थानीयमा त्रास बढेको थियो । त्यही बेला सोमबार करिव १२ वर्ष उमेरको भाले हात्ती मारिएको अवस्थामा भेटिएको हो ।
डिभिजन वन कार्यालय मोरङका प्रमुख घिमिरेकाअनुसार हात्तीबाट गतसाता मोरङमा एक जनाको ज्यान गएको थियो भने एउटा हात्ती मानिसबाट मारिनपुगेको छ । हात्ती मानव द्वन्द्व न्यूनीकरण गर्न डिभिजन वन कार्यालयले विद्यालय र समुदायस्तरमा सचेतना र जागरणका कार्यक्रम चलाउन सुरु गरिसकेको उनले बताए । वन कार्यालयले हात्तीलाई नलखेट्न, हात्तीको छेउमा गएर तस्बिर नलिन र सुरक्षित रहन सार्वजनिक सूचना प्रसार गरिरहेको छ ।
नेपाल सरकारले संरक्षण गरेको हात्ती लगायतका वन्यजन्तु सिकार गरेमा वा मारेमा वन्यजन्तु संरक्षण ऐन २०२९ मा ५ देखि १५ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।