लोड हुँदैछ...

मेनु

भेडेटारमा फुड फेस्टिबल, भारतीय पर्यटकको घुईंचो

भेडेटारमा फुड फेस्टिबल, भारतीय पर्यटकको घुईंचो

धरान । सन् २०२४ लाई स्वागत र २०२३ लाई बिदाइ गर्दै धनकुटाको भेडेटारमा फुड फेस्टिभल सञ्चालन भएको छ । भारतीय पर्यटकहरूको उल्लेख्य उपस्थितिबीच कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले आइतबार फेस्टिभलको उद्घाटन गरे ।

जनवरी १ को पूर्व सन्ध्या रातको १२ बजे कटेपछि नयाँ वर्षलाई स्वागत गर्न रात रमाइलो गरी बिताउन अघिल्लो दिनदेखि फेस्टिभल आयोजना गरिएको हो । आयोजक भेडेटार होटेल एसोसिएसनका अध्यक्ष तुमराज लिम्बुका अनुसार फेस्टिभलमा ३५ हजार बढी पर्यटक आउने अनुमान छ ।

विश्व बजारमा स्थानीय प्रकृति र संस्कृति ब्राण्डिङ गर्न नसकेका कारण नेपाल पछि परेको भन्दै कार्यक्रममा मन्त्री उप्रेतीले स्थानीय रुपमा भएका जुन कुरा बेच्न सकिन्छ, त्यसलाई बेच्नसक्नु नै पर्यटनबाट ल्याउन समृद्धिको आधार भएको उनले बताए । स्थानीय स्रोत साधन उत्पादन बढाएर पर्यटनलाई स्थानीय समुदायको आयस्रोत वृद्धिमा लक्षित बनाउनु जरुरी रहेको उनको भनाइ छ ।

विश्वको घुम्नैपर्ने १२ औं गन्तव्य भेडेटार रहेको र पूर्वको रिफ्रेसमेन्ट सेन्टर समेत बनेकाले भेडेटारलाई स्पोर्टस टुरिजमको रूपमा विकास गर्न प्रदेश सरकार लागिपरेको उप्रेतीले बताए । पूर्वी पहाडी क्षेत्रमा चतराबाट भेडेटार नाम्जेदेखि पहाडका जुनसुकै ठाउँमा जहाँ हामी उभिन्छौ त्यहीँ पर्यटन बेच्न सक्ने क्षमता भएको भएपनि लगानी गर्न नसकिएकोले निजी क्षेत्रको सहकार्य आवश्यक भएकोमा उनको जोड थियो ।

भारतीय पर्यटकले भारतीय रकम बोकेर आउँदा नेपालमा अनेकौँ झमेला हुने भएकाले नियम परिवर्तन गर्नुपर्ने उनले बताए । फेस्टिभललाई ग्रामीण कृषि पर्यटनसँग जोड्न साँगुरीगढीमा उत्पादन भएका कृषिजन्य बस्तुहरूलाई बजारीकरण गर्न र कृषकलाई उत्पादन सँग जोड्न कृषि भण्डारण केन्द्रको पनि उद्घघाट्न गरिएको छ ।

साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले जनतासँग कृषि उत्पादनलाई जोड उत्पादन भएका बस्तुलाई तुरुन्त बजारीकरण गर्न गाउँपालिकाले कृषि उत्पादन एके ठाउँमा केन्द्रित गर्न भण्डारण केन्द्र निर्माण गरिएको बताए । भण्डारण केन्द्रबाट होटेल तथा रेष्टुरेन्ट आन्तरिक तथा बाह्य पर्यटकलाई कोशेली बिक्री वितरण गर्न आपूर्ति सहज हुने उनको विश्वास छ ।

फेस्टिभलमा साँगुरीगढी क्षेत्रको कृषि तथा घरेलु उत्पादन बजारीकरण गर्न गाउँपालिकाले पर्यटकहरूलाई वस्तुहरूको किनबेच गर्ने स्टलहरूको पनि व्यवस्था गरेको छ । फेस्टिबल उद्घाटनमा लिम्बू जातिको च्याब्रुङ, राईको साकेला, मगरको हुर्रा, नेवारको धिमे बाजा, याम्फुको केलाङ नृत्यले सहभागीलाई स्वागत गरिएको थियो ।

फेस्टिभलमा आगन्तुकहरूलाई परम्परागत अर्ग्यानिक र रैथाने जातीय परिकारमा आकर्षण गर्न स्टल र रेस्टुराँहरूमा मौलिक परिकारहरूको समेत व्यवस्था रहेको छ । भेडेटार तथा आसपासका क्षेत्रमा भ्यु टावर, पाथीभरा मन्दिर, शंखेश्वर, भेडेटार पार्क, आत्मा बस्ने घर, सूर्योदय बौद्ध पार्क, प्याराग्लाइडिङ उडान स्थल, ध्वजे डाँडा, ओख्रे भ्यु टावर, नमस्ते झरना, ऐतिहासिक साँगुरीगढीस्थल लगायत रमणीय ठाउँहरू लाई फेस्टिभल क्षेत्रमा समेटिएको छ ।

ग्रामीण पर्यटन र कृषि, घरेलु उत्पादनको प्रवर्द्धन गर्न गाउँपालिकाले साँगुरीगढी क्षेत्रलाई यातायातको पहुँचमा पुर्‍याउन रिङरोडको योजना अघि सारेको छ । सोही अनुसार फेस्टिभलको क्षेत्र विस्तार गरिएको हो । उनका अनुसार फेस्टिभल अवधि ३ दिनसम्म पर्यटकहरूलाई खान र बस्नमा प्रचलित दरमा विशेष छुट दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।