लोड हुँदैछ...

मेनु

आर्दश सहकारी घोटालाको नालीबेली

व्यवस्थापकले डुबाएको सहकारी सम्हाल्दै सञ्चालक

व्यवस्थापकले डुबाएको सहकारी सम्हाल्दै सञ्चालक

विराटनगर । मोरङको कटहरी गाउँपालिका – २ मा रहेको नवआर्दश सहकारी संस्थाका व्यवस्थापक ३० वर्षीय उमेशकुमार मण्डलले चार वर्षमा सहकारीको एक करोड बढी अपचलन गरेको खुलेको छ । कटहरी गाउँपालिकाले गठन गरेको विज्ञ टोलीले गरेको छानविन प्रतिवेदन र अदालतमा दायर भएको अभियोग पत्र अनुसार मण्डलले १९ भदौ २०७५ देखि १२ असार २०७९ सम्म चार वर्षमा १ करोड १५ लाख ८७ हजार ४५४ रुपैयाँ अपचलन गरेको खुलेको हो ।

तत्कालीन व्यवस्थापक किशोरकुमार पाण्डे २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कटहरी गाउँपालिका २ को वडाअध्यक्षमा निर्वाचित भएपछि जिम्मेवारीबाट राजीनामा दिएका थिए । पाण्डले राजिनामा दिएपछि २०७५ चैत २२ गते बसेको संचालक समितिको बैठकले सहकारीमा कार्यरत कर्मचारी मण्डललाई व्यवस्थापककोसमेत काम गर्ने गरी जिम्मा दिएको थियो । मण्डल उक्त सहकारीमा १९ भदौ २०७३ देखि कार्यरत थिए । उनले त्यसबेलादेखि सहकारीको आर्थिक सहायकको रुपमा सम्पूर्ण सहायक खाता व्यवस्थापन र कम्प्युटर सफटवेयर व्यवस्थापनको काम गर्दै आएका थिए । उनी सहायक तृतीयको पदमा कर्मचारीको रुपमा नियुक्त भएका थिए ।

व्यवस्थापको जिम्मेवारी पाएपछि मण्डलले चार वर्षमा ३८० जना बचतकर्ताको रकम हिनामिना गरेको लेखा परीक्षण प्रतिवेदनबाट खुलेको छ । कटहरी गाउँपालिकाले चार्टर एकाउन्टेन्ट सुरज तिम्सिनाको नेतृत्वमा २०७९ माघमा गठन गरेको छानविन समितिले दिएको प्रतिवेदन अनुसार मण्डलले पदको दुरुपयोग गरी नक्कली कागजपत्र बनाएर विभिन्न बचतकर्ताहरुको बचतसमेत फिर्ता नगरी उनैले लिएको पाइएको थियो ।
मण्डलले मुद्दती खातामा जम्मा गर्ने भन्दै बचतकर्तासँग रकम लिने तर संस्थामा बचत नगरी रकम आफैं चलाउने गरेको पनि चार्टर एकाउन्टेन्टले गरेको लेखापरीक्षणका क्रममा खुलेको थियो ।

मण्डलले हस्ताक्षर दुरुपयोग गरी सफ्टयेरमा जथाभावी पुरानो मिटि राखेर कागजात बिनानै प्रविष्ट गर्ने, प्रविष्ट गरेको तथ्यांक मेटाउने, एक व्यक्तिको बचत अर्को व्यक्तिमा प्रविष्ट गर्ने, एक व्यक्तिको ऋण सेयर अरु व्यक्तिको नाममा प्रविष्ट गर्ने, ऋण समितिमा ऋण निवेदनका लागि आफुखुसी ऋण प्रवाह गरेर सहकारीको रकम हिनामिना गर्ने गरेको छानविन प्रतिवेदनमा उल्लेख छ ।सहकारीको रकम अपचलन गरेर मण्डलले चार ठाउँमा घडेरी जोडेको, कटहरीमा ब्रोदर्स वर्कसप र एक ठाउँमा घर किनेको स्थानीयले बताएका छन् ।

अदालतको आदेशले उनले त्यस अवधिमा जोडेको अचल सम्पत्ति रोक्का भएको छ । उनले बचतकर्ताको पासबुकमा रकम चढाए पनि सहकारीको सफ्टवेयरमा राखिने व्यक्तिगत खातामा रेकर्ड नराखेको पाइएको छ । मण्डलले सहकारीमा खाता नै नभएका उनका बाबु शम्भुप्रसाद मण्डल र आमा सीतादेवी मण्डलका नाममा १६ लाख ५२ हजार रुपैंयाँ बचत फिर्ता गरेको देखाएका छन् । खाता भएकी स्थानीय गायत्रीदेवी ठाकुरलाई उनका नाममा २ लाख रुपैयाँ ऋण निकालेर १ लाख रुपैयाँ मात्रै दिएका थिए भनें बाँकी एक लाख रुपैयाँ आफैं चलाएको खुलेको छ ।

सहकारीको नाममा रहेको जमिन बिक्रीका लागि बैना कागज बनाउँदा पूर्वअध्यक्ष लालबहादुर खत्रीलाई नक्कली साक्षी खडा गरेर उनको नाममा किर्ते हस्ताक्षर गरी मण्डलले ९ लाख ५० हजार रुपैंयाँ बुझेको देखिएको छ । बचतकर्ता अर्चना साहको ११ लाख ९४ हजार ६३५ रुपैंयाँ फिक्स डिपोजिट भन्दै २०७८ साउन १४ गते सहकारीमा जम्मा गरिदिएको पासबुकमा उल्लेख छ । तर, फिक्स डिपोजिटको रकम मण्डल आफैंले चलाउने गरेको खुलेको छ । खाता परिपक्क भएपछि साहले रकम माग्दा बचतमा १२ प्रतिशत ब्याज दिनेगरी जम्मा गरेको बताउँदै आएका थिए । साहले रकम माग्दै दबाब दिन थालेपछि हस्ताक्षर नै नचल्ने भए पनि व्यवस्थापक मण्डलले १० लाखको चेकमा २०७९ माघ १९ गते सही गरेर सहकारीको चेक दिएको अभियोग पत्रमा उल्लेखछ ।

सहकारीका अर्का कर्मचारी कटहरी गाउँपालिका २ का ४४ वर्षीय भविश्वर न्यौपानेले पनि १६ लाख ३० हजार रुपैयाँ सहकारीको हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ । २०७५ वैशाख ३० गते उनले सहकारीको रकम हिनामिना गरेको खुलेको छ । ‘न्यौपानेलाई दिइएको कार्य कुशलतापूर्वक निर्वाह नगरी चार खातामा कागजात बिना रकम प्रविस्ट गर्ने, भौचर नभिडाउने, आफु खुसी ऋण समितिलाई जानकारी नगराई आफ्नो नाममा तथा आफ्नो जमानीमा अन्य व्यक्तिलाई ऋण प्रवाह गर्ने आदि अनैतिक कार्यहरु गरेकोे पाइयो,’ छानविन प्रतिवेदनमा उल्लेख छ ।
‘संस्थाको विधान अनुसार संचालक समिति, लेखा समिति तथा ऋण समितिलाई आ–आफ्नो काम कर्तव्य तथा अधिकार प्रत्यायोजन भएकोमा समितिको माइन्युट बुक हेर्दा सो समितिले पनि मासिक, चौमासिक तथा वार्षिक रुपमा यतिका वर्षसम्म भएको अनियमितता समयमै रोक्न नसक्नु तथा सम्पूर्ण अधिकार एक व्यक्तिमा निहित पारेर मण्डललाई चेक एण्ड व्यालेन्स नगरी संचालक समिति, लेखा समिति तथा ऋण समितका सदस्यले व्यवस्थापकीय जिम्मेवारी पूरा नगरेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

बचतकर्ताको निक्षेप फिर्ता दिन्छौं  : सहकारी

नव आदर्श बचत तथा ऋण सहकारी संस्थाका संचालकहरुले सेयर सदस्यहरुको निक्षेप फिर्ता दिने बताएको छ । सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति रोक्का भएर कारवाहीको प्रक्रिया पनि अघि बढेको छ । ‘सहकारीको नियमित काम भइरहेको छ । नियमित बचत, ऋण प्रवाह र बजारबाट कर्जा असुलीको काम सहजताका साथ अगाडि बढेको छ । हामी बचतकर्ताको निक्षेप फिर्ता दिने छौं,’ सहकारीका अध्यक्ष किशोरकुमार पाण्डले भने, ‘अहिले संचालक समितिका सबै सदस्यहरु संस्थालाई सुव्यवस्थित ढंगले सञ्चालन गर्न र बचतकर्ताको रकम फिर्ता गर्न मिहेनत गरिरहेका छौं । विगतमा जिम्मेवार व्यक्तिबाट भएको कमजोरीको असर बचतकर्तामा पर्न नदिन प्रयत्नशील रहेका कारण सेयर सदस्यहरुलाई ढुक्क हुन आग्रह गर्दछौं । तपाइँहरुको निक्षेप फिर्ता गर्नेछौं ।’

मण्डललाई थुनामै राख्ने आदेश

सहकारी घोटला गरेको आरोपमा जिल्ला अदालत मोरङको आदेशमा पूर्पक्षको लागि थुनामा रहेका उमेशकुमार मण्डललाई उच्च अदालतले पनि थुनामै राख्न आदेश दिएको छ । जिल्ला अदालतको आदेशविरुद्ध मण्डल उच्च अदालतमा पुनरावेदन गर्न गएका भए पनि उच्चले जिल्लाकै आदेशलाई सदर गरिदिएको छ ।उच्च अदालतका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र न्यायाधीश गणेशप्रसाद बरालको संयुक्त इजलासलेले भदौ ३१ गते मण्डललाई जिल्लाको आदेश सदर गर्दै पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएका थिए ।

अर्का कर्मचारी भविश्वर न्यौपानेलाई १६ लाख ३० हजार रुपैयाँ धरौटी लिएर छाड्न अदालतले आदेश दिएकोमा न्यौपानेले धरौटीमा रिहा भएपछि सहकारीलाई तिर्नुपर्ने १६ लाख ३० हजार रुपैयाँ केही समय अगाडि मात्र भुक्तानी गरेका छन् । कर्मचारीका रुपमा कार्यरत न्यौपानेले पनि गैरकानुनी रुपमा संस्थाको रकम चलाएको पाइएको थियो ।साउन २३ गते मोरङ अदालतका न्यायाधीश दीनबन्धु बराललको इजलाशले मण्डललाई पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएका थिए । अदालतको आदेशपछि उनी जिल्ला कारागार मोरङमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds