विराटनगर । विराटनगर विमानस्थलमा निर्माणाधीन टर्मिनल भवन निर्माण कार्यले पछिल्लो समय गति लिएको छ ।केही अगाडि सुस्त बनेको भन्दै आलोचना भएको परियोजना निर्माण कार्यले पछिल्लो समय गति लिएको हो । टर्मिनल भवन निर्माण कार्य सन्तोषजनक ढंगले अगाडि बढिरहेको नागरिक उड्डयन प्राधिकरण विराटनगरका प्रमुख रिन्जी शेर्पाले जानकारी दिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरण २५ औं वार्षिकोत्सव समारोहका क्रममा आइतबार विमानस्थल निर्माणलगायत भइरहेको सुधारको बारेमा जानकारी दिइएको थियो । विराटनगर विमानस्थललाई व्यवस्थित र सुरक्षित बनाउन सिसि टीभीको राम्रो प्रबन्ध मिलाउने, यात्री र सामान चेक जाँचको लागि दुई वटा एक्स–रे जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको प्रमुख शेर्पाले जानकारी दिए । उनले यात्री प्रस्थान कक्ष र काउन्टर तर्फ २० टनको एसी जडान गरिसकेको भन्दै उनले रात्रि र खराब मौसममा पनि सहजरुपमा उडान अवतरण गर्न आवश्यक लाइट जडान गरिएको जानकारी दिए ।
कार्यक्रममा ३००० हजार मिटर रन वेसहितको विमानस्थल बनाउने विषयमा सबैले सरकारको ध्यानाकर्षण गराउनु पर्ने भन्दै श्रि एयरका स्टेसन प्रबन्धक अर्जुन कार्कीले विमानस्थल र विमान कम्पनीहरुले दिने सेवालाई प्रभावकारी बनाउनु पर्ने बताए । विराटनगर विमान स्थलबाट २०२३ को एघार महिनामा ३ लाख ६ हजार ७७ जना यात्रुहरुले सेवा लिएका थिए ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।