लोड हुँदैछ...

मेनु

कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो अनिवार्य छ ?

कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो अनिवार्य छ ?

विराटनगर । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति, प्रधानमन्त्री र विपी कोइरालाको फोटो हटाएर किरात राजा यलम्बरको फोटो राखे । उनले आफूले भनेअनुसार केन्द्रले सहयोग नगरेको झ्वाँक देखाउँदै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका सम्मानित नेता विशेश्वरप्रसाद कोइरालाको तस्बिर हटाएका हुन् ।

साम्पाङले उक्त फोटो हटाएको विषयमा व्यापक चर्चा भयो । तर, यसअघि नै राप्रपाबाट निर्वाचित दमकका प्रमुख राम थापाले पनि राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर पृथ्वीनारायण शाहको राखेका थिए । यद्यपि धरान उपमहानगरपालिका तथा दमक नगरपालिकाको अन्य कार्यकक्षमा भने राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राखिएको छ । स्वतन्त्रबाट निर्वाचित धरानका प्रमुख साम्पाङले फोटो मात्रै हटाएका छैनन् धरानलाई महत्व नदिएको भन्दै प्रधानमन्त्रीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

उता, फोटो हटाउने कार्यमा असन्तुष्टि जनाउँदै उपप्रमुख अइन्द्र बेघाले भने प्रमुख साम्पाङसँथै असन्तुष्टि जनाएका छन् । ‘धरान उपमहानगरपालिकाका नगरप्रमुख ज्यूले आफ्नो कार्यकक्षबाट राष्ट्र प्रमुख सम्माननीय राष्ट्रपति र प्रधानमन्त्री ज्यूको फोटोहरु हटाएको विषयले दुःखी बनाएको छ । जसबाट सम्माननीय माथि पर्न गएको असरप्रति दुःख व्यक्त गर्दै क्षमासमेत माग्दछु,’ बेघाले भनेका छन्, ‘नेपालको संविधान–२०७२ को मर्म र भावना अनुसार संविधानले प्रदान गरेको सिमा र घेराभित्र रहेर तिनै तहको सरकारको भूमिकालाई प्रभावकारी बनाउन, एक अर्काको परिपूरक बनाउन तहगत सम्बन्ध र जिम्मेवारी सम्मानित र मर्यादित बनाउन हामी सबैको दायित्व र जिम्मेवारी हो ।’ उनले नगर प्रमुख साम्पाङले जिम्मेवार भएर सबै तह र तप्कालाई समेटेर अघि बढ्न आग्रह पनि गरेका छन् ।

उपप्रमुख बेघाले फोटो हटाउने कार्य संविधानको मर्म र भावना विपरीत भएको दाबी गरेका छन् । तर, संविधान, कानून र अन्य कुनै पनि निर्देशिका र कार्यविधिमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने व्यवस्था देखिदैन । ‘फोटो राख्नैपर्छ भन्ने कुनै व्यवस्था छैन,’ गृह मन्त्रालय अन्तरगतका नेपाल सरकारका बाहलवाला सहसचिवले भने, ‘राखेको हटाएर अर्कै राख्ने वा नराख्ने भन्ने विषयमा पनि कँही कतै देखिदैन ।’ राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउनेलाई कारबाही गर्नुपर्ने कतिपय साम्पाङका आलोचकहरु बताउछन् । तर, कारबाही गर्ने कानुनी आधार पनि नभएको उनको दाबी छ ।

उता, संविधान र कानूनका ज्ञाता भीमार्जुन आचार्यले पनि फोटो राख्ने प्रचलन राजा, महाराजाहरुको रहेको बताए । ‘अहिले कार्यालयमा फोटो राख्न कुनै पनि आवश्यकता छैन । पहिले राजा, महाराजाहरूको पालामा राख्ने गरेको थियो । तानाशाही व्यवस्थामा राख्ने परिपाटी होला । तर, प्रजातान्त्रिक व्यवस्थामा शासक र शासित भन्ने शब्दवाली नै राखिँदैन । सरकारी कार्यालयमा प्रधानमन्त्री होस् कि कार्यालय सहयोगी होस् सबै समान नागरिक हुन् । फोटो राख्ने चलनले अहंकार र वर्ग देखाउँछ । त्यो राम्रो होइन,’ उनले भने ।

०६२–०६३ सालको जनआन्दोलनपछि सबै कार्यालयमा राख्ने गरिएको तत्कालीन राजाको तस्बिर हटाइयो । त्यसपछि कसैको पनि फोटो राखिन । पहिलो राष्ट्रपति रामवरण यादवको पालामा पनि धेरै फोटो राखिएको थिएन । पछि विद्या भण्डारी राष्ट्रपति बनेपछि भने फोटो सबै कार्यालयमा राख्न थालियो । यस्तै ०७४ सालमा बाम गठबन्धनको तर्फबाट प्रधानमन्त्री बनेका केपी ओलीको पालादेखि भने सबै कार्यालयमा प्रधानमन्त्रीको पनि फोटो राख्न थालिएको आचार्यको अनुभव छ । ‘यसले नागरिक र शासक छुट्टै भन्ने देखाउँछ,’ उनले भने ।

तर, प्रत्येक कार्यालयमा छुट्टा छुट्टै व्यवस्थाका साथ छुट्टाछुट्टै व्यक्ति तथा पात्रहरुको फोटो राख्ने कुराले पनि बेथिति ल्याउने कतिपयको भनाइ छ । आचार्यले भने, ‘सम्पादाको हिसाबले सबैले स्वीकार्य हुने खालका फोटोहरु राख्दा हुन्छ ।’ राजतन्त्र कालमा भने राजा र रानीको तस्बिर सरकारी कार्यालयहरूमा अनिवार्य राख्न लगाइन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।