लोड हुँदैछ...

मेनु

सिक्किममा पक्राउ परेकी उमाबारे सरकारलाई छैन जानकारी

सिक्किममा पक्राउ परेकी उमाबारे सरकारलाई छैन जानकारी

विराटनगर । खोटाङको दिप्रुङ चुइचुम्मा ५ की उमा चाम्लिङ राई युटुबर हुन् । उनलाई सिक्किमको सरकारले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोपमा शनिबार पक्राउ गरेको छ ।

गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले आफूले पनि पक्राउ परेको बारे जानकारी पाएको बताए । यद्यपि थप विवरण थाहा नभएको बताए । ‘उनको परिवार सामान्य हो । त्यति उच्छृङ्खल मान्छे पनि होइन । सामान्य ब्लगर हुन्,’ राईले भने, ‘पक्राउ परेको विषयमा के हो भनेर उनका घरपरिवारलाई बुझ्न मान्छे पठाएको थिएँ । तर, अहिलेसम्म जानकारी आएको छैन ।’ खोटाङका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले भने आफूलाई यसबारे जानकारी नभएको बताए ।

छिमेकी अरुण चाम्लिङले सामान्य कुरा बोलेर फेसबुकमा भिडियो हालेकै विषयमा पक्राउ गरिएको जानकारीमा आएको बताए । तर, उनी त्यसखालको मान्छे नभएको उनको भनाइ छ । ‘ति बहिनी त्यस्तो उग्र थिइनन्, उनले गरेको सामान्य कुरा हो । यसबाट हामी सबै नेपाली युवाले नेपालमा जस्तो स्वतन्त्रतापूर्वक बोल्न अन्य लोकतान्त्रिक मुलुकमा पनि पाइँदैन रहेछ भन्ने हो,’ उनले भने, ‘त्यहाँ पिएस गोले र पवन चाम्लिङको लडाइको बीचमा उमा परेको मैले बुझेको हो ।’

उमालाई ५ दिनको म्याद थप गरेको आफूले थाहा पाएको उनले बताए । त्यहाँ राई समुदायमा पनि फरकफरक समूह रहेको कारण अर्को समूहले उनलाई पक्राउ गराएको हुनसक्ने उनले बताए ।उता, सिक्किम क्रान्तिकारी मोर्चाका सचिव शितल सोताङ राईले एक विज्ञप्ति प्रकाशित गर्दै पवन चाम्लिङले देशबाहिरबाट मान्छे ल्याएर हिंसा भड्काउन सुरु गरेको आरोप लगाएका छन् । उनले खोटाङकी युवती उमालाई संकेत गर्दै भनेका छन्, ‘सिक्किमको विशेष कानूनहरूलाई तोड़ेर गैरकानूनी ढंगमा देश बाहिरका मान्छेहरू ल्याएर सिक्किममा मिलेर बसेका मानिसहरूमा भ्रम फैलाउने चाम्लिङको उहिलेदेखिको बानी हो । यसपल्ट फेरि पनि साकेवा पर्वको नाममा राज्य बाहिर साथै नेपालबाट चाम्लिङले मान्छे झिकाएर जातमाथि राजनीतिकरण गर्ने जुन घिनलाग्दो खेल खेले त्यो अति नै निन्दनीय छ ।’

उनले सिक्किम प्रवेश गरेकी उमाले इन्नर लाइन पर्मिट नकाटेको हुनसक्ने संकेत गरेका छन् । ‘देशबाहिरका नागरिकहरू सिक्किम आउँदा इन्नर लाइन पर्मिट काट्नुपर्छ अनि निर्धारित समयको लागि सिक्किममा बस्ने घुम्ने अनुमति दिइन्छ, यो सिक्किमको नियम हो, कानून हो । तर २५ वर्ष सरकार चलाएको व्यक्तिले यसरी आफ्नै राज्यको नियम र कानूनलाई अदेखा गरी गैर कानुनी रूपमा विदेशी मान्छे राज्यमा छिराउँछ भने उसले सिक्किम मात्र होइन देशलाई नै खतरा पु¥याउनसक्ने सम्भावना बढ्दछ,’ उनले लेखेका छन् ।

उनले साकेवा मनाउन पवन चाम्लिङले नेपालबाट उमालाई सिक्किममा बोलाएर आयोजकको रूपमा राखेको दाबी पनि गरेका छन् । ‘ती महिला चाम्लिङकै आडमा सिक्किमको नियम इन्नर लाइन पर्मिट समेत नकाटी सिक्किम भित्रिएको खुलेको छ । यसरी गैर कानूनी ढंगमा सिक्किम पसेकी ती महिलाले लेग्सेपमा साकेवा पर्व मनाउने भन्दै भिडियोमार्फत् बारबार निमन्त्रणा तिनले किन दिनुप¥यो ?।’

उता उमाले भने शनिबार आयोजना हुने साकेला नाच्नका लागि आव्हान गर्दै भिडियो पोष्ट गरेकी थिइन् । उक्त भिडियोमा कुनै साम्प्रदायिक कुरा उल्लेख छैन । तर, सिक्किमको आन्तरिक निर्वाचन हुने संघारमा भइरहेको राजनीतिक दाउपेचमा उनी परेकी छिन् । उमाले आफ्नो संस्कार संस्कृति हैन आफ्नो पहिचानलाई जोगाउनुको लागि आव्हान गरेकी थिइन् ।

उनले चारदिन अगाडि राखेको उक्त भिडियो भने साकेवा पर्व सिक्किम नामक पेजबाट पनि शेयर भएको छ । हालसम्म उक्त भिडियो १ लाख १६ हजार बढीले हेरेका छन् । भिडियोमा ११ हजार बढी लाइक, ६ सयबढी कमेन्ट र २३१ जनाले शेयर गर्दै खुसी व्यक्त गरेका छन् । फेसबुक पेजमा उनको १ लाख ११ हजार फलोअर्स रहेका छन् । उमाले २४ डिसेम्बर अर्थात एक हप्ता अगाडि सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङसँग खिचाएको फोटो पनि पोष्ट गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।