काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले अब नेपालको राष्ट्रिय टोलीबाट खेल्न नपाउने भएका छन् ।
जिल्ला अदालत काठमाडौंले शुक्रबार सन्दीपलाई एक युवतीलाई बलात्कार गरेको मुद्दामा दोषी ठहर गरेसँगै उनले नेपाली टोलीबाट खेल्न नपाउने नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताए ।
गतवर्ष भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर युवतीलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । भदौ २१ गते युवतीले सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन्।
सन्दीपलाई गत वर्ष पुष २८ गते उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त मुद्दा लाग्दा सन्दीप क्यारेवियन प्रिमियर लिग खेल्न वेस्टइन्डिज पुगेका थिए । उक्त मुद्दासँगै सन्दीपलाई क्यानले कप्तानबाट पनि हटाएको थियो ।
गत फागुन देखि सन्दीपले नेपाली टोलीबाट खेल्दै आएका थिए । पाटनले धरौटीमा छाड्न आदेश दिएपछि उनी नेपाली टोलीमा फर्किएका थिए । जिल्ला अदालत काठमाडौंले उनलाई दोषी ठहर गरेसँगै शनिबार वीरगन्जको नारायणी रंगशालामा प्रो क्लब च्याम्पियनसिप फाइनल पनि खेलेनन् ।