काठमाडौं । सरकारले बालकुमारी घटनामा मारिएका २ युवकको परिवारलाई जनही १०÷१० लाख राहत दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप १० लाख दिने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
घटनामा घाइतेहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने निर्णय पनि भएको छ । शुक्रबार बिहान ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा २ जना युवकको मृत्यु भएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने सरकारी गाडी जलाएपछि प्रहरीले गोली चलाएको थियो ।
दुई जना युवकको ज्यान जाने गरी भएको घटनामा गम्भीर लापरबाही देखिएको भन्दै सरकारले सम्बन्धित अधिकारीहरूलाई जिम्मेवारीबाट हटाएको छ । प्रधानमन्त्री र गृहमन्त्रीसहित सुरक्षा निकायका अधिकारीहरूबीच भएको छलफलबाट सो निर्णय भएको हो ।
ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ रुद्रप्रसाद पण्डितलाई गृहमन्त्रालयमा तानिएको छ । त्यस्तै, प्रदर्शनमा खटिएका स्पट कमान्डर डीएसपी उमेश लम्साललाई पनि निलम्बन गर्ने बैठकले निर्णय छ ।
मन्त्री ज्वालाको पीएसओ बोधराज दनुवारको लापरबाही देखिएकाले उनलाई पनि निलम्बन गर्ने निर्णय गरिएको छ भने ईपीएस कोरिया शाखाका प्रमुख गुरुदत्त सुवेदीलाई पनि निलम्बन गर्ने निर्णय भएको छ ।
बालकुमारीमा भएको प्रहरीसँगको झडपमा परी अछामको चौरपाटी गाउँपालिका–१ सिउडीका २३ वर्षीय वीरेन्द्र बहादुर शाह र दैलेखको महावु गाउँपालिका–६ घर भएका २३ वर्षीय सुजन रावतको मृत्यु भएको थियो।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।