विराटनगर । विराटनगरमा अवैध हुण्डी कारोबार फस्टाउँदै गएको पाइएको छ । पटक पटक स्रोत नखुलेको अवैध रकम बरामद हुने, भरिया पक्राउ पर्ने र अनुसन्धानबाट उक्त रकम हुण्डी कारोबारबाट आएको खुल्ने भएपछि यो धन्दा मौलाउँदै गएको स्पष्ट भएको हो ।
बुधबार १९ लाख ९० हजार रुपैयाँ नगदसहित विराटनगरबाट सुनसरी देवानगन्ज गाउँपालिका–५ का ४९ वर्षे सुरेन्द्रप्रसाद साह पक्राउ परे । स्रोत नखुलेको रकमसहित पक्राउ परेका उनी जय माता टे«र्डस देवनगन्जमा धान चालमको व्यापार गर्ने व्यापारी भएको प्रहरीले जनाएको छ ।
अवैध रकम हुण्डीको पैसा गन्तब्यसम्म लैजादै गर्दा प्रहरीले विराटनगर–६ केशलिया मार्गबाट साहलाई पक्राउ गरेको निश्कर्ष निकालेको छ ।
यसअघि कार्तिक १४ गते २१ लाख ८७ हजार रुपैयाँसहित एक जना १६ वर्षे बालक पनि पक्राउ परेका थिए । उनले पनि हुण्डीबापत भुक्तानी गर्नुपर्ने रकम ढुवानी गरेको प्रहरीको दाबी थियो ।
हुण्डी कारोबारीले १८ वर्ष उमेर नपुगेका बालवालिका कानुन नलाग्ने भन्दै अपराधमा बालबालिका प्रयोग गरेको भनिएको थियो । उक्त घटनाबाट हुण्डी कारोबारमा विकेक गुप्ता र मनोज साह संलग्न रहेको राजस्व अनुसन्धान कार्यालय इटहरीको अनुसन्धानबाट खुलेको थियो । त्यस घटनापछि उनीहरु फरार छन् । साह सुनचाँदी पसल व्यवसायी रहेको बुझिएको छ । उनीहरु भारतमा रहेको प्रहरी स्रोतले जनाएको छ ।
अदालतबाट पक्राउ पूर्जी जारी गरी अनुसन्धान भइरहेको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यले जानकारी दिए । उनीहरुलाई फरार अभियुक्त बनाएर अदालतमा अभियोग लैजाने तयारी गरिएको छ ।
फागुन २६ गते विराटनगर–१५ सुडी बस्ती बस्ने धर्मानन्द साहलाई पनि प्रहरीले हुण्डीको रकमसहित विराटनगरबाट पक्राउ गर्यो । प्रहरीले साहको साथबाट ४ लाख ७५ हजार रुपैयाँ बरामद गरेको थियो ।गत माघ २६ गते विराटनगर १५ बस्ने रंजितकुमार साहको साथबाट प्रहरीले हुण्डीको ९ लाख २० हजार रुपैयाँसहित पक्राउ गरेको थियो ।अवैध हुण्डीको कारोबार गर्ने सुनसरी बर्जु गाउँपालिका–३ का २४ वर्षीय उमाकान्त राय गत असोज २७ गते नगद १० लाख रुपैयाँसहित विराटनगरबाट पक्राउ परेका थिए ।
विराटनगरमा विभिन्न व्यवसाय, सहकारी र संस्थाहरु सञ्चालनको नाममा हुण्डी कारोबार हुने गरेको प्रहरीको भनाइ छ ।हुण्डीको कारोबार गर्ने उमाकान्तलाई पक्राउ गरेको एक हप्तापछि मोरङ प्रहरीले विराटनगर–७ बाट हुण्डीको कारोबार गर्ने अर्का स्थानीय ४९ वर्षीय विनोदप्रसाद साहलाई ७ लाख १८ हजार ८ सय रुपैयाँसहित पक्राउ गर्यो । प्रहरीले उनलाई कात्तिक ३ गते हुण्डी कारोबारको रकमसहित पक्राउ गरेको थियो ।
उल्लेखित घटनाले कोशी प्रदेशको राजधानी रहेको शहर विराटनगरमा अवैध हुण्डीको कारोबार फस्टाएको देखाउँछ । हुण्डीको पैसा बोकेर सम्बन्धित ठाउँमा पु¥याउने भरियालाई मात्र पक्राउ गरिरहँदा अवैध हुण्डीको कारोबार गर्ने मुख्य नाइकेहरु भने सुरक्षित रहँदै आएका छन् । त्यसले पनि अवैध हुण्डी कारोबार मौलाइरहेको देखिन्छ ।
बुधबार को ७ प ५२२१ नम्बरको मोटरसाईकलमा हुण्डीको रकम गन्तब्यसम्म लैजाने क्रममा साह पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । ‘पक्राउ परेका साह भरिया भएको खुलेको छ’ डिएसपी दाहालले भने, ‘हुण्डीमा प्रयोग भएको रकम जोगवनीमा लिएर विराटनगर आउने क्रममा उनी पक्राउ परेका हुन् ।’ ढुवानीकर्ताले सम्बन्धित ठाउँमा हुण्डीको रकम पु¥याए बापत प्रतिलाख एक सय रुपैयाँ पाउने गरेको बयान साहले दिएका छन् ।
अवैध हुण्डीको कारोबार गर्ने गिरोहले एक लाख रुपैयाँ पठाउँदा ३ हजारदेखि ५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको प्रहरीका अनुसन्धान अधिकारीहरू बताउँछन् । मनी ट्रान्सफरबाट अहिले ५० हजारभन्दा बढी पठाउन नपाउने र बैंकबाट १० लाखभन्दा बढी रकम पठाउँदा स्रोत खुलाउनुपर्ने भएकोले अवैध धन्दा गर्नेहरूले हुण्डीको प्रयोग गर्दै आएका छन् । हुण्डीबाट कारोबार गर्दा स्रोत देखाउनु नपर्ने र राजस्वसमेत छल्न पाइने भएकोले विराटनगरमा यो धन्दा फस्टाउँदै गएको प्रहरीको निश्कर्ष छ । यसको जालो अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएको प्रहरीको भनाइ छ ।
प्रहरीले हुण्डी कारोबारमा संलग्न भरियालाई मात्र पक्राउ गर्दै आएको छ । चालु आर्थिक वर्षको चार महिनामा मोरङ प्रहरीले हुण्डीको रकमसहित चार जनलाई पक्राउ गरेको छ । पक्राउ परेका सबै भरिया मात्र हुन् । प्रहरीले पक्राउ गरेपछि थप अनुसन्धान र कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने गरेको छ । अनुसन्धान कार्यालयका अधिकृतहरु पनि प्रहरीले पक्राउ गरेर दिएको बाहेक थप अनुसन्धान नगरी धरौटीमा छोड्ने गरेको छ । उनीहरु पनि हुण्डीको गिरोहसम्म पुग्न सकेको देखिदैन । जसले गर्दा गिरोहले अवैध धन्दालाई निरन्तरता दिइरहेको देखिन्छ ।
‘हुण्डीमा संलग्न गिरोहको कनेक्सन यस्तो हुन्छ कि भरिया र हुण्डी कारोबार गर्ने मुख्य मान्छेबीच चिनजान नै हुँदैन’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘त्यही भएर पनि मुख्य अभियुक्त पक्राउ गर्न सकिरहेका छैनौं ।’