विराटनगर । एसीसी यू–१९ एसिया कप क्रिकेटमा आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले अफगानिस्तानसँग खेल्दै छ। ।
खेल यूएईको दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा नेपाली समयअनुसार बिहान ११ः१५ बजे शुरू हुनेछ ।
नेपाल र अफगानिस्तान दुबैले समूह चरणको दोस्रो खेल खेल्दैछन्।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने अफगानिस्तान पनि भारतसँग ७ विकेटले पराजित भएको थियो।
प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न नेपालले आज अफगानिस्तानलाई हराउन जरुरी छ ।
अर्कोतिर पहिलो खेलमा भारतसँग पराजित भएको अफगानिस्तान पनि सेमिफाइनलमा पुग्न नेपाललाई हराउन चाहन्छ । यसर्थ यी दुईबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।
नेपालले समूह चरणको अन्तिम खेलमा मंसिर २६ गते मंगलबार भारतसँग खेल्नेछ ।
प्रतियोगितामा ८ टोली सहभागी छन् । प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । नेपाल रहेको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् । समूह ‘बी ’मा आयोजक यूएई, बंगलादेश, जापान र श्रीलंका छन् ।
समूह ‘ए’को शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा भारत छ । समूहमा शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।