आवश्यकता अनुसार मन्त्रीमण्डल विस्तार हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोसी प्रदेशमा आवश्यकताअनुसार मन्त्रीमण्डल विस्तार हुने मुख्यमन्त्री केदार कार्कीले बताएका छन् ।

शनिबार सुनसरीको देवानगञ्ज गाँउपालिकामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले सरकारको प्राथमिकता मन्त्रीमण्डल विस्तार भन्दापनि नागरिकको सेवा र मानवीय विकास रहेको बताए । उनले भने, ‘मन्त्रीमण्डल भनेको मुख्यमन्त्रीलाई चाहिने हात हो । मुख्यमन्त्रीलाई जहिले आवश्यक हुन्छ मन्त्रीमण्डल त्यहीबेला बन्छ । अहिले आवश्यक परे अहिले र भोली परे भोली नै मन्त्रीमण्डल बन्नेछ ।’

मुख्यमन्त्री कार्कीले मंसिर १७ गते नेपाली काँग्रेसका समशेर राई, नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यसयता, नेकपा माओवादीसहितका अन्य दलले मन्त्रीमण्डल विस्तारका लागि दबावदिदै आएकाछन् । यद्धपी, मुख्यमन्त्री कार्कीले भने प्रदेशमा नागरिकको कामलाई प्राथमिकता राख्दै मन्त्रीमण्डललाई आवश्यकता अनुसार पूर्णता दिने बताउँदै आएका छन् ।

प्रदेश सरकार सञ्चालनका लागि अहिले अप्ठ्यारो अवस्था नभएको बताउँदै मुख्यमन्त्री कार्कीले भने, ‘अहिले मुख्यमन्त्रीलाई काम गर्न गाह्रो छैन । सरकार चलाउन र काम गर्न अहिले अफ्ठ्यारो भएको छैन । सरकारको प्राथमिकता अहिले मन्त्रीमण्डल नभएर मानवीय विकास हो ।’

कार्यक्रममा मुख्यमन्त्री कार्कीले सरकारले आफ्नो प्राथमिकता मानवीय विकासमा केन्द्रीत गर्दै आएको बताए । उनले दिगो र गतिशील विकासका लागि मानवीय विकास अहिलेको आवश्यक्ता भएको उल्लेख गरे । मानवीय विकासअन्तर्गत शिक्षालाई जोड दिदैं प्रदेश सरकारले प्रत्येक गाँउपालिकाबाट कृषि र पशुको विषयमा अध्ययनका लागि समान एक जनालाई छात्रबृत्ति उपलब्ध गराउने मुख्यमन्त्री कार्कीले बताए ।

मुख्यमन्त्री कार्कीले भने, ‘गाँउका विद्यालयको स्तरोन्नती गर्दै यही पढेका विद्यार्थीलाई क्षमतायोग्य बनाउनेतर्फ प्रदेश सरकार केन्द्रीत छ । अब यहीको अध्ययनबाट डाक्टर, इन्जिनियर, कृषि, प्रशासन र विषयगत विशिष्ठता हासिल गर्न सक्ने अवस्था सृजना हुनेछ । त्यसको सुरुआत भइसकेको छ । अब प्रदेश सरकारले पढाउछ र जागिरमा पनि लगाउनेछ ।’

कार्कीले खबरदारीसँगै आफ्नो जिम्मेवारी बहन गर्न सके भ्रष्टाचार निराकरण हुने बताएका छन् । अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले विराटनगरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले जनताका विचमा बोलेका कुराहरु पुरा गर्ने कुरामा जीम्मेवारी पूर्ण ढंगले लाग्नुपर्ने बताए ।

मुख्यमन्त्री कार्कीले आफू पदमा रहुन्जेल गरिव जनताको पक्षमा रहेर काम गर्ने बताए । ‘म पदमा रहुन्जेल गरिब जनताको पक्षमा रहेर काम गर्छु । तर कानुन बनाएर गर्छु, कानुन संगत गर्छु । उहाँले भन्नुभयो, जनताका पक्षमा काम गर्दा जेलै जान पर्छ भने म तयार छु,’ उनले भने ।

कोशी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्लेको सभापतित्वमा भएको कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख, कोशी प्रदेशमा रहेका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधका साथै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिका साथै सरोकारवाला निकायका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

शनिबार, २३ मंसिर, २०८०, साँझको ०६:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर