गति लिँदै कोशी प्रदेशसभा

दोस्रो कार्यकाल सुरु भएको १० महिनापछि कोशी प्रदेशसभाले लय पक्रिन थालेको छ ।

विराटनगर । कोशी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको १० महिना पूरा भइसकेपछि बुधबार बल्ल संसदीय समितिको गठन भयो । यसअघि लगातार चल्न नसकेको प्रदेशसभा कार्तिक २० गतेयता प्रत्येक दिन चलिरहेको छ । प्रदेशसभाको बैठक बिहीबारका लागि पनि तोकिएको छ ।

बिहीबारको बैठकमा यसअघि कहिल्यै नगरेको अभ्यास कोशी प्रदेशसभाका सदस्यहरुले मुख्यमन्त्री केदार कार्कीसँग प्रश्नोत्तर गर्ने छन् । जसका लागि ८ जना सांसदले प्रदेशसभा सचिवालयमा प्रश्न टिपाएका छन् ।

सांसदहरुले पुरक प्रश्न गर्न पाउनेगरी नयाँ कार्यविधि पनि बनाउनुपर्ने देखिएको प्रदेशसभा सचिव गोपाल पराजुलीले बताए । कार्यव्यवस्था परामर्श समितिमा पनि प्रदेशसभालाई निरन्तर संचालन गर्ने विषयमा दलहरुबीच छलफल चल्न थालेको छ ।

प्रदेशसभा र संसदीय समितिलाई कसरी सक्रिय बनाउने भन्ने विषयमा सांसदहरुको चासो सुरु भएको छ । यस्तै सांसदहरुमा रिक्त सभामुखको पदपूर्ति कहिले गर्ने भन्ने विषयमा पनि चासो बढेको छ । उनीहरुले प्रदेशसभा बैठकको शून्य समयमा सभामुख चयन छिटो गर्नुपर्ने बताउन थालेका छन् ।

‘सभामुख चयनको प्रक्रियाबारे सदनमा कुरा उठेको छ । त्यो स्वभाविक कुरा हो । तर, सभामुख सहमतिमै सरसल्लाहबाटै हुनुपर्छ । मैले दलका नेताहरुसँग सल्लाह गरिरहेकै छु । उहाँहरु सहमतिमा गएर चयन भए राम्रो हुन्छ भन्ने पक्षमा छु म पनि । सभामुखको चुनाव तिहार र छैठ पछाडि हुन्छ,’ उपसभामुख सिर्जना दनुवारले भनिन्, ‘ऐन, कानून बनेपनि कार्यान्वयनमा समस्या भएको छ । त्यसकारण बनेका ऐन कार्यान्वयन भए नभएको बारेमा पनि हेर्नुपर्ने भएको छ ।’

प्रदेशसभा सचिव पराजुलीले प्रदेशसभा अब ट्र्याकमा आएको बुझ्नुपर्ने बताए । ‘प्रदेशसभा अलिक ट्र्याकमा आएको भनेर तपाईहरुले बुझ्नु प¥यो,’ उनले भने, ‘प्रदेशसभाले दोस्रो कार्यकालको रोकिएको समिति गठनको काम गरेको छ । यो उपलब्धी नै हो । यसलाई सकारात्मक ढंगले हेर्नुपर्छ ।’

यस्तै कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधित्व गर्ने सांसदहरुले शून्य समयका लागि पहिले जसले नाम टिपायो उसैलाई अगाडि दिने निर्णय गरेको छ । यसअघि वर्णानुक्रम अनुसार बोल्ने क्रम निर्धारण हुने गरेको थियो । यस्तै विषेश समयलाई एक दिनमा अधिकतम एक घण्टा छुट्याएर दलको हैसियत आधारमा न्यूनतम समय दिने सहमति भएको छ ।

‘सबै दलले बोल्ने विशेष समय १ घण्टाको समय निर्धारण गर्ने र सो समयलाई दलको आकारको हिसावले न्यूनतम ७ देखि १० मिनेटमाथिको समय दिनेगरी छलफल भएको छ,’ प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले भने । यस्तै नियमावलीमा शून्य समयमा सांसदहरुले बोल्न नाम टिपाउनुपर्ने उल्लेख छ ।

संघीय संसदमा भने सांसदहरु आफैंले नाम टिपाउने चलन छ । तर, कोशी प्रदेशमा भने दलका सांसदले बोल्न चाहे दलमार्फत नै नाम टिपाउने चलन छ । ‘त्यसमा पनि पुनःविचार गर्ने हो कि भन्ने छलफल चलेको छ,’ पराजुली बताउँछन् ।

प्रदेशको दोस्रो प्रदेशसभाको पहिलो बैठक २०७९ पुस १७ गते आइतबार सुरु भएको थियो । अहिलेसम्म प्रदेशसभाका तीन दर्जन बढी बैठक बसेको छ । प्रदेशसभाले यसबीचमा गरेको सबैभन्दा महत्वपूर्ण निर्णय प्रदेशको नामकरण हो ।

बिहिबार, २३ कार्तिक, २०८०, बिहानको १०:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर