काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अमेरिका र वेस्ट इन्डिजले २०२४ मा संयुक्त आयोजना गर्ने टी–२० विश्वकपक्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीको नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको छ ।
राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो ।
राखेपले १५ खेलाडी, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय बैठकले गरेको छ । प्रतिखेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफारिस गरिएको छ।
गत आइतबार सम्पन्न आइसीसी पुरुष टी– २० विश्वकपको एसिया क्षेत्र छनोटको फाइनलमा पुग्दै नेपालले विश्व कपमा स्थान पक्का गरेको थियो । यसअघि सोमबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले नेपाली टिमलाई ५० लाख रूपैयाँ पुरस्कार दिने निर्णय गरेको थियो ।