नेपाललाई सुपरओभरमा हराउँदै ओमान बन्यो विश्वकप छनोटको विजेता

विराटनगर । टी–२० विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित भएको छ । निर्धारित २०–२० ओभरमा स्कोर बराबरी भएपछि भएको सुपरओभरबाट नेपाल पराजित भएको हो ।

सुपर ओभरमा २२ रनको लक्ष्य पाएको नेपालले १० रन मात्र जोड्न सक्यो । बिलाल खानले कँसिलो बलिङ गर्दै पहिलो बलमा कुशल भुर्तेललाई आउट गरेका थिए । त्यसअघि अविनाश बोहराले सुपर ओभरमा ३ छक्कासहित २१ रन खर्चिएका थिए ।

नेपालले पहिलो बलमै कुशल भुर्तेललाई गुमायो । दोस्रो बलमा कुशल मल्लले कुनै रन लिनै सकेनन् । तेस्रो र चौथो बलमा मल्ल र गुल्शनले १ रनमात्र लिन सके । पाँचौं र अन्तिम बलमा मल्लले चौका प्रहार गरे पनि नेपालले १० रनमात्र बनाउन सक्यो ।

नियमित खेलमा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १८४ रन बनाएको थियो । ओमानले ९ विकेट गुमाई १८४ रन बनाएपछि खेल टाइ भएको थियो ।

निर्धारित ओभरमा ओमानलाई विजयका लागि अन्तिम ओभरमा ८ रन चाहिन्थ्यो । सन्दीप लामिछानेले २ विकेट लिएपछि खेल अन्तिम बलमा २ रन चाहिने अवस्थामा नेपालले १ रनमात्र दिएपछि स्कोर बराबर भएको थियो ।

ओमानबाट ओपनर कश्यप प्रजापतीले सर्वाधिक ६३ रन बनाए । उनले ५२ बल खेली ३ चौका र ४ छक्का प्रहार गरे । अविनाश बोहराले १७ औं ओभरमा उनलाई आउट गरी नेपाललाई खेलमा फर्काएका थिए ।

प्रतिक अथाभा ७ रनमा आउट भए । उनलाई सोमपाल कामीले एलबीडब्लु आउट गरेका थिए । प्रजापति र अकिब इल्यासले दोस्रो विकेटमा ७ ओभर भित्र ६७ रनको साझेदारी गरे । इल्यासलाई गुल्शन झाले आउट गरे । इल्यासले १९ बल खेली २ चौका र ३ छक्कासहित ३३ रन बनाए ।

कप्तान जिसन मक्सुदले २६ रनको महत्वपूर्ण योगदान दिए । उनले १८ बल खेली २ चौका र १ छक्का प्रहार गरे । मक्सुदलाई आउट गरी विवेक यादवले ट्वान्टी २० अन्तर्राष्ट्रियमा पहिलो विकेट लिए । नासिम खुशी १ रनमा आउट भए । उनलाई करण केसीले आउट गरे । उनी आउट भएपछि आएका मेहरान खानले पहिलो दुई बलमा चौका र छक्का प्रहार गरे पनि अर्को बलमा विवेकले सानदार डाइभिङ फरवर्ड क्याच लिएर उनलाई आउट गरे ।

नेपालको सुरुवात राम्रो रहेन । दोस्रो ओभरमा छक्का प्रहार गर्दै आफ्नो खाता खोलेका आसिफ शेख ६ रनमै आउट भए भने तेस्रो नम्बरको ब्याटिङमा नेपालले पुनः एक अर्को प्रयोग गर्दै सन्दीप जोरालाई पठाएको थियो । १३ बलमा १० रनमात्र बनाउन सकेका उनलाई ओमानका कप्तान जिसन मक्सुदले बोल्ड गरे ।

ओपनर कुशल भुर्तेलले ३१ रन बनाए । उनले २२ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । अफ स्पिनर अकिब इल्यासले भुर्तेल र कुशल मल्ललाई आउट गरि नेपाललाई पूर्ण रुपमा दबाबमा राखेका थिए । बोल्ड हुनु पूर्व मल्लले ९ बलमा ३ रनमात्र बनाउन सके । विवेक यादवले पनि १ रनमात्र बनाउन सके ।

फाइनलमा पुगेसँगै नेपाल र ओमानले अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी २० विश्वकपमा स्थान पक्का गरेका थिए । नेपालले यूएईलाई ८ विकेटले र ओमानले बहराइनलाई १० विकेटले पराजित गरेको थियो ।

 

आइतबार, १९ कार्तिक, २०८०, दिउँसोको ०४:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर