विश्वकप छनौटको फाइनलमा ओमानलाई नेपालले दियो १८५ रनको चुनौती

विराटनगर । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ ।

टस जितेर ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अविजित ५२ र गुल्सन झाले ५४ रन बनाए । अन्तिम ओभरमा २४ रन बटुल्दै नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको हो ।

रोहितले ३७ बलमा दुई छक्का र पाँच चौका हिर्काए । उनले ३६ बलमा अर्धसतक पुरा गरेका हुन् ।

ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले पनि ३१ रनको योगदान गरे । तेस्रो नम्बरका ब्याट्सम्यान सन्दीप जोराले टोलीको खातामा १० रन थपे भने करण केसीले अविजित अविजित २० रन जोडे । उनले ६ बलमा दुई छक्का र एक चौका हिर्काए ।

ओमानका बलर बिलाल खानले ३ विकेट लिए । अकिब इलियसले पनि २ विकेट हात पारे भने जिसन मक्सुदले १ विकेट लिए । नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान आसिफ ६ बलमा एक छक्काको मद्दतले ६ रन बनाउँदै आउट भएका थिए । उनलाई ओमानका बलर बिलाल खानले कश्यप प्रजापतीद्वारा क्याच गराएका थिए ।

२.४ ओभरमा पहिलो विकेट गुमाउँदा नेपालले १५ रन बनाएको थियो ।
नेपालले दोस्रो विकेटका रुपमा तेस्रो नम्बरका ब्याट्सम्यान सन्दीप जोरालाई गुमाएको थियो । उनी १३ बलमा एक चौकाको मद्दतले १० रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई ओमानका बलर जिसन मक्सुद बोल्ड गरेका थिए । ६.१ ओभरमा दोस्रो विकेट गुमाउँदा नेपाली टोलीले ४७ रन बनाएको थियो ।

तेस्रो विकेटका रुपमा नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । कुशल भुर्तेल ३१ रन बनाउँदै आउट भएका थिए । उनले २२ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काएका थिए । उनलाई ओमानका बलर अकिब इलियसले मेहरान खानद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले ७.१ ओभरमा तीन विकेट गुमाएर ४९ रन बनाएको थियो ।

चौथो विकेटका रुपमा नेपालले कुशल मल्ललाई गुमाएको थियो । उनी ९ बलमा ३ रन बनाउँदै आउट भएका थिए । उनलाई ओमानका बलर अकिब इलियसले प्रतिक अथावालेलेद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले १० ओभरमा चार विकेट गुमाएर ६० रन बनाएको थियो ।

पाँचौँ विकेटका रुपमा नेपालले गुल्सन झालाई गुमाएको थियो । उनले टोलीका लागि ५४ रनको महत्वपूणर् योगदान गरेका थिए । उनले २५ बलको सामना गरी ४ छक्का र ५ चौका प्रहार गरेका थिए । त्यसअघि उनले २० बलमा अर्धसतक पुरा गरेका थिए ।

६० बलमा चौथो विकेट गुमाएको नेपालको स्कोरलाई कप्तान रोहित पौडेल र गुल्सन झाले १३८ रनको स्थितिमा पुर्‍याएका थिए । गुल्सनलाई ओमानका बलर बिलाल खानले सकिल अहमदद्वारा क्याच गराएका थिए ।

छैठौँ विकेटका रुपमा नेपालले बिवेक यादबलाई एक रनको ब्यक्तिगत स्कोरमा गुमाएको थियो । उनलाई ओमानका बलर बिलाल खानले आउट गराएका थिए । बिलालले आफ्नो बलिङमा बिवेकको क्याच आफैले लिएका थिए । बिवेक आउट हुँदा नेपालले १८.२ ओभरमा १५२ रन बनाएको थियो ।

आइतबार, १९ कार्तिक, २०८०, दिउँसोको १२:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर