सिंगापुरलाई ८ विकेटले हराउँदै टी-२० विश्वकप छनोटमा नेपालको सानदार सुरुवात

काठमाडौं । टी–२० विश्वकपको एसिया छनोटमा नेपालले सानदार सुरुवात गरेको छ । अर्को वर्ष आयोजना हुने टी—२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेल सञ्चालन भएको हो ।

सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन मात्र बनाएको थियो ।

नेपालको जितमा कुशल भुर्तेलले ७४ रन योगदान गरे । यसैगरी आसिफ शेखले २७ रन बनाए भने कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहे । कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेलले टोलीका लागि ७४ रनको योगदान गरे । उनले केवल ४८ बलको सामना गरी दुई छक्का र आठ चौका हिर्काए । उनले २६ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए । उनले दुई छकका र ६ चौकाको मद्दतले अर्धसतक पुरा गरेका हुन् ।

नेपालको पहिलो विकेटका रूपमा आसिफ शेख पेभेलियन फर्किएका थिए । उनले टोलीका लागि २७ रनको योगदान गरेका थिए । उनले केवल २६ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए । उनलाई सिंगापुरका बलर अक्षय पुरीले बोल्ड गरेका थिए । विकेटकिपर ब्याट्सम्यान आसिफ आउट हुँदा नेपाललाई जितका ६६ बल ६२ रन आवश्यक थियो ।

त्यसपछि कुशल भुर्तेल र कप्तान रोहित पौडेलले नेपालको पाली समालेका थिए । उनीहरूले उत्कृष्ट साझेदारी गर्दै टोलीको स्कोरलाई एक सय ४१ रनसम्म पुर्‍याएका थिए । कप्तान रोहितले टोलीका लागि ३५ रनको योगदान गरे । रोहितले २४ बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काए भने कुशल मल्लले अविजित ६ रन बनाए ।

त्यसअघि सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनाएको थियो । सिंगापुरका लागि ओपनर ब्याट्सम्यान रोहन रंगराजनले सर्वाधिक ४५ रनको योगदान गरेका थिए । पाँचौँ नम्बरका ब्याट्सम्यान मनप्रित सिंहले पनि २४ रनको योगदान गरे ।

आर्यवीर चौधरीले टोलीको खातामा ३७ रन थपे । उनले २६ बलमा पाँच चौका पनि हिर्काएका थिए । उनलाई अविनाष बोहराले करण केसीद्वारा क्याच गराएका थिए । सिंगापुरका अक्षय पुरी १३ र कालिमुथु रमेश एक रनमा अविजित रहे । अक्षयले आठ बलमा एक छक्का र एक चौका पनि हिर्काएका थिए ।

नेपाली टोलीका बलर अविनाष बोहराले तीन विकेट लिए । उनले चार ओभरमा एक मेडनसहित ४३ रन खर्चिए । करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले दुई—दुई विकेट हात पारे । सन्दीपले चार ओभरमा १८ र करणले चार ओभरमा ३६ रन खर्चिए । गुल्सनले चार ओभरमा २१ रन खर्चिए ।

नेपालले आफ्नो दोस्रो खेल मंगलबार मलेसियासँग खेल्नेछ । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुईवटा टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान बनाउने छ । टी—२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ ।

एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा विभिन्न ८ राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालसहित संयुक्त अरब इमिरेट्स (यूएई), हङ्कङ, ओमान, बहराइन, कुवेत, मलेसिया र सिंगापुरले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको समूह ‘ए’ मा आयोजक राष्ट्र नेपाल, मलेसिया, ओमान र सिंगापुर रहेका छन् । समूह ‘बी’ मा भने बहराइन, हङ्कङ, कुवेत र यूएई रहेका छन् । प्रारम्भिक चरणमा आफ्नो समूहमा रहेका चारवटै टोलीले एकअर्कासँग एक—एक खेल खेल्नेछन् ।

दुवै समूहबाट तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइन चरणमा प्रवेश गर्नेछन् । प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग तथा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको दुवै सेमिफाइनल खेल कात्तिक १७ गते हुनेछ । सेमिफाइनल खेलमा सफलता हात पार्दै फाइनलमा पुग्ने दुवै टोली सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपका लागि छनोट हुनेछन् । प्रतियोगिताको फाइनल खेल कात्तिक १९ गते कीर्तिपुर क्रिकेट मैदानमा हुनेछ ।

सोमबार, १३ कार्तिक, २०८०, दिउँसोको ०१:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर