विराटनगर । गत असोज १० गते अमेरिका गएका विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला स्वदेश फर्किएका छन् । कोइराला शनिबार विराटनगर आइपुगेका हुन । ४० देशभन्दा बढीका स्थानीय सरकारका प्रमुख र प्रतिनिधिहरू सहभागी सेमिनारमा सहभागी हुन प्रमुख कोइराला अमेरिका गएका थिए ।
टेक्सासमा भएको सेमिनारमा सहभागी भएर प्रमुख कोइरालाले विभिन्न महानगरका मेयर, सिनेटरहरुसँग विकास र साझेदारीको विषयमा छलफल गरेका थिए । उनका अनुसार विराटनगर महानगरपालिका र अमेरिकाको न्यूयोर्क महानगरबीच भगिनी सम्बन्ध स्थापित गर्ने समझदारी भएको छ । यद्यपि समझदारीपत्रमा हस्ताक्षर भने भएको छैन । भगिनी सम्बन्ध स्थापित भएपछि विराटनगरको दीर्घकालिन समस्याका रुपमा रहेका बाढी, डुवान, सुकुमवासी व्यवस्थापन, सडक निर्माण र फोहर व्यावस्थापनमा सहकार्य हुने कोइरालाको विश्वास छ ।
न्यूयोर्कका मेयर एडम्स विराटनगरको भ्रमणमा आउने र त्यसैबेला महानगरबीच भगिनी सम्बन्धमा हस्ताक्षर हुने कोइरालाको भनाइ छ । ‘फोहर ब्यावस्थापनका लागि बोस्टनमा बनेको प्लान्ट हाम्रा लागि सुविधाजनक हुनसक्छ । तर त्यहाँ त्यो प्लान्ट ४ विलियन डलरमा बनेको हो । हामीले त्यति खर्च गर्न नसकेपनि त्यस्तै सानो प्लान्ट लगाएर काम गर्न सक्छौं,’ कोइरालाले भने, ‘त्यहाँ प्लान्ट जडान गर्ने प्राविधिकहरु आएर विराटनगर महानगरको सर्वेक्षण गरेपछि त्यसपछि डिपिआरको काम अघि बढ्छ ।’