नवनियुक्त मुख्यमन्त्रीको शपथ आइतबार १ बजे हुने

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीको शपथग्रहण आइतबार १ बजे हुने भएको छ । कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आजै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

कार्कीलाई एमालेका ३९ र काँग्रेसका ८ सांसदले समर्थन गर्दै संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्दै निवेदन दिएका थिए । उक्त हस्ताक्षरको सनाखत गरेपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि दाबी पेश गरेका थिए । यद्यपि अन्तिम समयमा उनले आफ्नो दाबी कमजोर रहेको र शीर्ष नेताबीच छलफल जारी रहेको हुँदा सनाखत तत्काल नगराउने बताएका थिए ।

यसअघि असोज २० गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपुग्ने भएपछि राजीनामा दिएका थिए । प्रदेशसभामा रहेका ९३ सांसदमध्ये बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ । कार्कीले काँग्रेसका ८ सांसद लिएर एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

शनिबार, २७ असोज, २०८०, बिहानको १०:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर